सीएम रिमाल
बिहानको ६ बजे नै रेडियोका लागि मोटरसाइकलमा हेटौँडा बजार निस्केँ । एउटा सानो बाबु सबैसँग आफ्नो हात फैलाउँदै पैसा मागिरहेको थियो । कसैले पैसा झिकेर दिन्थे त कोही नबोली हिँडथे । त्यो सानो बाबु मेरो नजिक पनि आइपुग्यो । मसँग पनि पैसा माग्यो । उसको नम्र बोली, मलिन अनुहार देखेर मलाई पनि माया लाग्यो । मैले पनि थोरै पैसा उसको हातमा दिएँ ।
मलाई लाग्यो, यति सानो बाबुले किन पैसा माग्दै हिँडेको होला । मनमनै सोचेँ । उसलाई बेलाएर केही सोधु सोधु लाग्यो र बोलाएँ । बाबु यो पैसा जथाभावी खर्च नगर है ।
उ हस भन्दै बाटो लाग्यो । मेरो बाटो पनि उतै भएकाले म पनि उसको पछि पछि लाग्दै गएँ । बाबु त हत्तपत्त फार्मेसीमा पस्यो ।
“स्यास्या गर्दै उसले एउटा खोकीको औषधि माग्यो । किन औषधि माग्यो होला भन्दै म एकछिन त सोच्न बाध्य भएँ । एकैछिनमा ऊ औषधि बोकेर पो निस्कियो ।
मैले उसको पिछा गर्न छोडिनँ । उ दौडिँदै एक जना बिरामी महिलाको नजिक पुग्यो र भन्यो , आमा आमा औषधि खानुस् । मैले तिम्रा लागि खोकीको औषधि किनेर ल्याएको छु नि । ल झट्टै उठ अब औषधि खाऊ” भन्दै करायो ।।
उसले आमालाई धेरै माया गर्ने रहेछ । सानो छोराले आफू अशक्त भएको समयमा मागेर भए पनि औषधि किनेर खान दिएकोमा आमाको अनुहारमा खुसी नै खुसी देखिन्थ्यो । बाबुले झोलाबाट केही खानेकुरा झिकेर पनि आमालाई खुवाउँदै थियो । यो दृश्य देखेर म पनि धेरै नै भावुक भएँ । आमाको माया संसारमा अपार छ । कसैसँग तुलना गर्न सकिँदैन ।