• १० मंसिर २०८१, सोमबार

माैलिक पेशा संकटमा

उच्च घरानाका लागि विलासिताका सावर उत्पादन

blog

सावर प्रशाेधन गर्दे भद्रबहादुर सार्की, तस्विर– विशाल सुनार

विशाल सुनार

दुल्लु (दैलेख), साउन २४ गते । सार्की समुदायले वर्षौंदेखि छालाको प्रशाेधन गरी छालाजन्य सामाग्री उत्पादन गर्दै आएका छन् । यो समुदायले छालाको जुत्ता र चप्पललगायतको उत्पादन गरी जीवनयापन गर्दै आएका हुन्  । 

सावर र बाइसघरेको विरासत

सावर भन्नासाथ जिल्लाकै पहिचान बनेको छ । नारायण नगरपालिका १ स्थित पुरानो बजारको भगवती टोलका बाइस घरे अग्रस्थानमा आउँछ । नरबहादुरको सन्ततीको सावरमा विशेष भूमिका रहेको मानिन्छ । उहाँका छ सन्तानमा तीनजनाको मृत्यु भइसकेको र बाँकी तीनमध्ये एकजना भारतमा, एक जना पसल देलेख बजारमा सानो व्यापार गरेर बसेपछि सावर प्रशाेधन र उत्पादन गर्ने  भद्रबहादुर सार्की मात्र जीवित हुनुहुन्छ । ७० वर्षका उहाँ हाल भगवतीमाई गाउँपालिका ४ वडाको मनघर गाउँमा बस्नुहुन्छ र सोही स्थानमा खाडी सञ्चालन गर्नुहुन्छ । 

नयाँ पुस्तामा आकर्षण हुन नसक्नु कारण बताउनुहुँदै शेरबहादुर बिशुन्खे भन्नुहुन्छ, ‘कानुनी जटिलता, उत्पादन र प्रसोधनमा झन्झट भएकाले नयाँ पुस्ता सो कामप्रति आकर्षित छैन ।’  सावरको उपमा पाएको दैलेख जिल्लाले कुनै समय सबैभन्दा बढी सावर नै निर्यात हुन्थ्यो ।


सावर के हो ?

सावर एक प्रकारको विशिष्ट किसिमको छाला हो । सावर गाई, गोरु, राँगा, भैँसी, मृग, रतुवा वा अन्य चौपायाको बनाउन सकिन्छ । कालगतिले मरेका होस् वा शिकारीले शिकार गरेका हुन् । शरीरबाट छाला निकालेर खाडलमा राखेर प्रशाेधन गरेपछि सावर बन्छ । तर सर्वोत्कृष्ट सावर मृग अथवा रतुवाको बन्छ । 

सावरको विश्व बजारमा निकै उच्च मूल्य छ र माग पनि । झट्ट हेर्दा कलेजी, बैजनी, रातो, फिक्का पहेलो, गुलाबी गेरुवा आदि रङ्गमा पाइन्छ । विभिन्न प्रकारको रङ्गमा निर्माण गर्न सकिने र लचकदार, बानादार हुनुका साथै आकर्षक हुने भएकाले बजारमा सावरको माग उच्च छ । 

सावर उद्यमी दलबहादुर सार्कीका अनुसार सावरमा विभिन्न रङ्ग चढाउने प्राकृतिक विधि छ । मैवा, उतिस, काफल, रैच, अँगेरी आदिको बोक्रालाई कुटेर रङ्ग चढाइन्छ । उच्चस्तरीय छाला र आकर्षक रङ्गको हुने भएकाले पनि बहुउपयोगी भएको उहाँको भनाइ छ । जुत्ता, चप्पल मात्र हैन टोपी, ज्याकेट, आसकोट, बेल्ट, हेन्ड ब्याग, हतियारको दावहरुको कभरसहित मोबाइलको कभरसम्म निर्माण गर्न सकिन्छ । 


कसरी बन्छ सावर

मरेका मृगको छाला नै सावरको कच्चा पदार्थ हो । सावर बन्न ५ देखि ८ महिना लाग्छ । छालामा भएको दुर्गन्ध मर्ने, छालामा रहेको रौँ हट्ने र छालामा साैन्दर्यसँगै सुगन्ध निकाल्न लामो अवधि लाग्ने गर्दछ । स्थानीय खानीबाटै उत्खनन गरेको चुन ढुङ्गाको प्रयोग गरी छालाको रौँ हटाइन्छ ।  छिटोछरितो रुपमा तयार गर्दा गुणस्तरमा समस्या हुन्छ । 

कोसेलीमा सावर

उहाँले सावरकै जुत्ता तथा छाला प्रदर्शनीमा वि.सं. २०५६ सालमा पन्धाैं राष्ट्रिय लघुउद्यमी पुरस्कार पाउनुभएको छ । इन्द्रहादुर बयलकोटीका अनुसार सावरको छाला उपहार स्वरुप जाने गरेको छ । 


उच्च घरानाको पोसाकको रुपमा पहिचान बन्दै गएको सावरमा सोध गरिरहनुभएका डिबी नेपाली बताउनुहुन्छ । सरकारले सावर प्रशाेधनको विधि र संस्कृतिको यस्तो अनुभवलाई सङ्ग्रह गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । 

सावर उत्पादनमा कानुनी अड्चन 

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ जारी भए पश्चात् मृग र रतुवालाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरेपछि यो पेशामा समस्या पैदा भएको हो । उच्च लेकाली भेगमा हिमपात भएपछि गाउँ पसेका मृगहरुको कालगति वा शिकारमा परेपछि छाला प्राप्त हुन्छ । शिल्पी समाज दैलेखका अध्यक्ष बखतबहादुर नेपालीका अनुसार कानुन बनेपछि मौलिक पेशा  प्रभावित बनेको छ । 


राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोेधन गरी व्यावसायिक वन्यजन्तु पालन तथा प्रजननसम्बन्धी मापदण्ड–२०७८ को मस्यौदा तयार भएको छ  । मापदण्ड स्वीकृत भएपछि कस्तुरी मृग, जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई र घोडगधा, खरायो, दुम्सी, बँदेल, भ्यागुता र पाहा, कछुुवा, मयुर, कालिज, लुइँचे, वन कुखुरा, बट्टाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना, सुगा र लखानलाई लाइसेन्स लिई व्यावसायिक पालन गर्न पाइने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्ले  बताउनुहुन्छ ।  सो मापदण्ड स्वीकृत भए सावर उत्पादन गर्न केही सहज हुन सक्छ ।