काठमाडौं, साउन २३ गते । पछिल्लो समय स्तनपान गराउनेको सङ्ख्या घट्दै गएको छ । तथ्याङ्कअनुसार २०१४ मा ४९ प्रतिशत रहेको स्तनपान घटेर २०१९ मा आउँदा ४२ प्रतिशतमा झरेको छ ।
नेपाल मल्टि इन्डिकेटर क्लष्टर सर्वेक्षण २०१९ अनुसार नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपानको सुरुवात गर्ने ४२ प्रतिशत छ भने पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै स्तनपान गर्नेको सङ्ख्या ६२ प्रतिशत छ ।
उक्त सर्वेक्षणले २ वर्षसम्म स्तनपान गराउने ८७.६ प्रतिशत छ । नेपाल जनसांख्यिकी सर्वेक्षण २०१६ को तथ्याङ्कअनुसार नेपालमा पूर्ण स्तनपना गराउने ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने ५५ प्रतिशत छ भने शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपान गराउने ८९ प्रतिशत थियो ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार जन्मनासाथ स्तनपान गराउनु अघि १० जना नवजातशिशुहरु मध्ये तीन जना नवजात शिशुहरुलाई दूध, मह चिनी आदि चटाउने गरेको पाइएको छ ।
नेपालमा शिशु जन्मेदेखि १ महिनासम्म आमाको दूधमात्र खुवाउने ८० प्रतिशत छ । तर शिशु २ देखि ३ महिनासम्मको हुँदा आमाको दूधमात्र खुवाउने घटेर ७२ प्रतिशतमा झरेको उहाँले बताउनुभयो । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका बाल रोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले शल्यक्रिया गरेर जन्मेको शिशुहरुमा कम मात्रामा स्तनपान गराएको बताउनुभयो । सामान्य प्रसूति भएका ४६ प्रतिशतले स्तनपान गराएको अध्ययनले देखाएको छ ।
नेपालमा ५ वर्ष मुनीका ३६ प्रतिशत बालबालिका पुड्कोपना १० प्रतिशत, ख्याउटेपना, २७ प्रतिशत कमतौल र ५३ प्रतिशत रक्तअल्पताबाट ग्रसित छन् । नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ ।
सबै प्रकारको कुपोषणलाई रोक्न स्तनपानको महत्वपूर्ण भूमिका रहने चिकित्सक बताउँछन् । त्यसैगरी, जन्मेकाे एक घण्टा भित्रै स्तनपान गर्नेको सङ्ख्या शहरमा ४३, ग्रामिणमा ४० प्रतिशत र स्वास्थ्य संस्थामा ४२ र घरमा प्रसूति भएका ४१ प्रतिशतले एक घण्टाभित्र स्तनपान गराएको पाइएको छ ।
दूध दानाबाट दूध खुवाउने बढ्दै
दूध दानाबाट दूध खुवाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । नेपालमा २०१४ मा १२ प्रतिशत थियो भने २०१९ मा पुग्दासम्म बढेर २३ प्रतिशतमा पुगेको छ । दूध दानाबाट दूध खुवाउने सबै भन्दा बढी बागमती प्रदेशमा रहेका छन् । धनीले ३० प्रतिशत र गरिबले ४२ प्रतिशत स्तनपान गराएको अध्ययनले देखाएको छ । शिशु जन्मेकाे ६ महिनासम्म स्तनपान गराउने शहरमा ५८ र ग्रामिणमा ६९ प्रतिशत छन् ।
पूर्ण स्तनपान गर्ने शिशु तीक्ष्ण
शिशु जन्मेदेखि ६ महिनासम्म आमाले पूर्ण स्तनपान गराउने चिकित्सकको सुझाव छ । पूर्ण स्तनपान गरेको शिशु अरु शिशुहरुको तुलनामा तीक्ष्ण हुने चिकित्सक बताउँछन् । शिशु जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्ण स्तनपान अर्थात् 'एक्सक्लुसिभ बेस्ट फिडिङ' भन्नाले बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र पिउनु हो । त्यसका अलाव पानीको पनि आवश्यक पर्दैन ।”
बिगौतीमा पौष्टिक आहार पाइन्छ सुवेदीका अनुसार स्तनपान शिशुको महत्वपूर्ण आहार हो । शिशु जन्मेपछि शुरुका दिनमा आउने दूधलाई बिगौती दूध खुवाउनुपर्नेमा उहाँले जोड छ । बिगौती दूधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक आहारहरु जस्तै प्रोटिन कार्बोहाइडेट फ्याट शिशुलाई चाहिने मात्रामा प्राप्तमा हुने उहाँले बताउनुभयो ।
बिगौती दूधमा शिशुलाई रोगसँग लड्न सक्ने क्षमता हुने हुँदा शिशुलाई निमोनिया, झाडापखाला, कुपोषणजस्ता रोगहरुबाट बचाउन सकिने सुवेदी बताउनुहुन्छ । स्तनपान गराउँदा हुने फाइदा बालरोग विशेषज्ञ डा. रेणु प्रसाईं स्तानपान गराउँदा शिशु र आमाबीचको सम्बन्ध पनि प्रगाढ हुनुका साथै आमाको मानसिक तनाव कम हुने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “जन्मिने बितिकै स्तनपान गराउँदा जन्म पश्चात हुने रक्तस्रावहरु कम हुन्छ । पूर्ण स्तनपान गराउँदा आमालाई परिवार नियोजन समाधानको पनि काम गर्छ ।” स्तनपान शिशुले चाहे अनुसार २ देखि ३ घण्टाको फरकमा गराउनुपर्ने चिकित्सकको सुझाव छ ।
शिशु यदि धेरै बेर सुत्यो भने ४ घण्टामा उठाएर स्तनपान गराउनुपर्ने सुवेदी बताउनुहुन्छ । उहाँ हुन्छ, “कुनै कारणले शिशु धेरै नै सुतिरहको छ भने उसको जिउमा ग्लुकोजको मात्रा कमी नहोस् भनेर हामीले ४ घण्टापछि शिशुलाई उठाएर पनि खुवाउन सक्छौँ ।” उहाँका अनुसार दिनमा ८ देखि १२ पल्टसम्म स्तनपान गराउँदा राम्रो हुन्छ ।
कसरी दूध पुगे/नपुगेको थाहा पाउने
चिकित्सकका अनुसार दूध प्रशस्त खाना पुगेको शिशुले एक दिनमा कम्तीमा ६ देखि ८ पटकसम्म सफा पिसाब फेर्छन् । शिशुलाई दूध प्रशस्त खाना पुगेको छैन भने २४ घण्टामा ६ पटकभन्दा कम पिसाब फेर्छ र पिसाबको रङ्ग गाढा पहेँलो, बाक्लो र गन्हाउने हुने चिकित्सक बताउँछन् ।
आमालाई सन्तुलित खानाको आवश्यक
स्तनपान गराउने महिलाले शिशुलाई आफ्नो दूध मात्र खुवाउने तर आफूले चाहिँ सबै किसिमको आहार सन्तुलित बनाएर खान सुवेदीको आग्रह छ । उहाँले बताउनुभयो, “गेडागुडी, चामल, मकै गहुँ । माछामासु खानु न्छ भने माछा मासु, अण्डा र गेडागुडीमा अलिकति जोड दिनुपर्छ ।” त्यसका अलावा दूध दही फलफुल हरियो सागपात र पानी सबैलाई मिलाएर सन्तुलित आहार बनाउनुभयो भने दूध प्रशस्त आउने चिकित्सक बताउँछन् ।
कोरोना पुष्टि भएकाले पनि स्तनपान गराउन मिल्छ
कोरोना पुष्टि भएकाले पनि स्तनपान गराउन सक्ने डा. सुवेदी बताउनुहुन्छ । उहाँले आमालाई कोभिड पोजेटिभ भएमा पनि स्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोभिड पोजेटिभ भएका आमाले पनि स्तनपान गर्न सक्नुहुन्छ । स्तनपान गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, माक्स लगाउने, बच्चा छुनु भन्दा पहिले साबुन पानीले मिचिमिची हात धुने ।”
बेबी मिल्क बैंक स्थापना
सरकारले साउन १६ गते देखि २२ गतेसम्म “स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौँ” भन्ने नाराका साथ विश्व स्तनपान मनाइएकाे छ । विश्व स्तनपान सप्ताहको उपलक्ष्यमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पहिलो पटक बेबी मिल्क बैंकको उद्घाटन गरिएकाे छ ।
परिवार कल्याण महाशाखाकाे पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बिरामी बच्चा र स्तनपान गराउन नसक्ने अवस्थाका महिलाबाट भर्खर जन्मिएका बच्चालाई लक्षित गरि यो वर्ष देखि बेबी मिल्क बैंकको स्थापना गरिएकाे बताउनुभयो । यो बैंक अन्य अस्पतालमा पनि विस्तार गर्ने योजना छ ।