• १५ चैत २०८०, बिहिबार

हास्यव्यङ्ग्यको उत्सव

blog

काठमाडौँ, साउन २२ गते । गाईजात्रा अर्थात् हाँसोको उत्सव सुरु हुन अब केही दिन मात्र बाँकी छ तर पनि हास्यकलाकारको दशैँ मानिने गाईजात्राको चर्चा भने सुरु हुन थालिसकेको छ। धेरैको मनमा यो वर्ष हास्य कलाकारले गाईजात्रामा कस्तो प्रहसन देखाउलान् भन्ने कुतूहलता जाग्न थालिसकेको छ। पछिल्लो वर्ष झैँ यस वर्ष पनि धेरै कलाकार गाईजात्रामा स्टेज सो नगर्ने सुरसारमा देखिनुहुन्छ। कोही आफ्नै युट्युब च्यानलमार्फत गाईजात्रा प्रहसन देखाउने सुरमा हुनुहुन्छ भने केही काठमाडौँबाहिर जाने सुर कसिरहनुभएको छ। 

हास्यकलाकार मनोज गजुरेल यस वर्षको गाईजात्रामा पनि स्टेज सो नगर्ने सुरसारमा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “म आफ्नै युट्युब च्यानलमार्फत गाईजात्राको प्रहसन देखाउँछु। यस पटक स्टेजमा केही गरिँदैन, जे देखाइन्छ युट्युबमार्फत नै आउँछ।” गाईजात्रा महोत्सवलाई व्यावसायिक हिसाबभन्दा पनि हास्यव्यङ्ग्य पर्वका रूपमा लिने गरेको उहाँको भनाइ छ। उहाँले आफ्नो युट्युब च्यानलमार्फत जनार्दन शर्मा, महिन्दा राजापाक्ष र अरबी सेखको प्रहसन देखाउने तयारी गरेको जानकारी दिनुभयो। कलाकार दीपकराज गिरी पनि यस पटकको गाईजात्रामा खासै केही योजना नभएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “मेरो यस पटकको गाईजात्रा भनेकै छक्कापञ्जा–४ को सुटिङ व्यस्तता हो। गाईजात्रामा सबैलाई शुभकामना दिन्छु, यही नै हो मेरो गाईजात्रा।”

 अहिले पनि धेरै कलाकार कोरोना र दर्शकहरूको धेरै भीडभाड हुने डरले गाईजात्रामा स्टेज सो नहुने बताउनुहुन्छ। कुनै समय यस्तै थियो जहाँ झन्डै दर्जनौँ हास्यकलाकार एउटै स्टेजमा उभिएर दर्शकलाई हँसाइरहेका हुन्थे तर पछिल्ला केही वर्षदेखि कलाकारमा त्यो चार्म खासै देखिँदैन। कलाकार जितु नेपाल आफू काठमाडौँबाहिर भएको हुनाले गाईजात्राको खासै तयारी नभएको बताउनुहुन्छ। “अब समय मिल्यो भने आफ्नो युट्युब च्यानलमार्फत नै केही गरौँ कि भन्ने सोचेको छु,” उहाँले भन्नुभयो। अहिले एक त पहिला जस्तो अवस्था पनि छैन र धेरैजसो कलाकार एक–अर्कामा छरिएका हुनाले पनि स्टेज सो गर्न सजिलो नहुने उहाँको भनाइ थियो ।  अहिले विगतका वर्षका तुलनामा हँसाउने कलाकारका स्तर, विषय उत्कृष्ट रहेको पनि उहाँको ठम्याइ छ। 

गाईजात्रामा स्टेज सोहरू नभए पनि अधिकांश कलाकारका हँसाउने मसाला भनेको राजनीतिक र सामाजिक विषय हुने गर्छ। युट्युब च्यानलबाटै भए पनि धेरैजसो कलाकारले देश चलाउने नेता, सभासद्का कुकृत्यलाई तारो बनाउँदै दर्शकलाई पेट मिचिमिची हँसाउने काममा देखिनुहुन्छ। कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर पानवाला’ले गाईजात्रालाई लक्षित गरेर गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याउनुभएको छ। आफू अहिले गोल्डेन ओक कमेडीका लागि काठमाडौँबाहिर रहेकाले गाईजात्राको दिन के गर्ने भन्ने तयारी अहिले ठ्याकै भन्न नसकिने रिजालले बताउनुभयो। 

“केही न केही त अवश्य नै गरिन्छ तर के भन्ने अझै टुङ्गो लागेको छैन। गाईजात्रा भनेको हाम्रा लागि एउटा पर्व नै हो। वरिष्ठ हास्यकलाकारले गर्नुभएको कामलाई हामीले निरन्तरता दिइरहेका छौँ त्यो नै हाम्रा लागि गर्वको कुरा हो,” रिजालले भन्नुभयो। 

गाईजात्रामा प्रहसन तथा अन्य हास्य प्रस्तुतिमा हँसाउने नाममा पुराना र सस्ता कमेडीले पनि ठाउँ नपाएका होइनन् तर आज पनि गाईजात्रालाई व्यावसायिक नभनी हास्यव्यङ्ग्यको पर्वका रूपमा लिने कलाकार भने अझै घटेका छैनन्।