• १४ वैशाख २०८१, शुक्रबार

तीन लाख किलो जडीबुटी निकासी

blog

बैतडी समाचारदाता

बैतडी, साउन २०  गते । बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको होे ।

डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्कअनुसार रिठ्ठा, पाखनवेद, टिमुर, अमलालगायतका जडीबुटी तीन लाख ५६ हजार ५५५ किलो, सल्लाको खोटो दुई लाख २० हजार ६३० किलो निकासी भएको थियो । सोबापत १० लाख २१ हजार ६२० रुपियाँ राजस्व सङ्कलन भएको जनाइएको छ । वन क्षेत्र भएर जाने चमेलिया जलविद्युत् आयोजनाबाट दुई लाख ११ हजार ७९० रुपियाँ राजस्व दाखिला भएको डिभिजन वन कार्यालय प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वन क्षेत्र भएर जाने चमेलिया जलविद्युत्का तार लगेबापत वनलाई राजस्व प्राप्त हुने गरेको छ ।

बैतडी जिल्लामा रिठ्ठा, अमला, टिमुर, गुच्चे च्याउ, चेजपत्ता, दालचिनी, सुगन्धवाल, पाँचऔँले, झ्याउलगायत ६५ भन्दा बढी जडीबुटी रहेको तथ्याङ्क छ । तीमध्ये पाँचऔँले प्रतिबन्धित रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडी जिल्लाको ग्वाल्लेक र सिगास संरक्षित वनमा बहुमूल्य जडीबुटी रहेका छन् । संरक्षित वनबाहेक जिल्लामा ३७२ सामुदायिक वन रहेका छन् । सामुदायिक वनबाट सल्लाको खोटो र निकासी गर्न मिल्ने जडीबुटी बिक्रीका लागि खुला गरिएको भिजन वन प्रमुख कँडेलले जानकारी दिनुभयो ।