• ८ वैशाख २०८१, शनिबार

मापसे गरी स्कूल बस चलाउने नौ चालकलाई कारबाही

blog

तस्बिर : ट्राफिक कार्यालय, काठमाडौं ।

काठमाडौं, साउन १५ गते । आठ दिनमा नियम विपरित स्कुल बस चलाउने नौ जना चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरी सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएर विहानैदेखि गाडी चलाउने स्कुल बसका आठ जना चालकहरु कारबाही परेका हुन् ।

आज मात्रै विभिन्न स्कुलका पाँचवटा बसका पाँच जना चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको छ । गत हप्ता चार र आज पाँच गरी जम्मा नौ जना चालकलाई कारबाही गरिएको हो ।

गत साउन ८ गतेदेखि मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने बसका चालकमाथि परीक्षण सुरु गरिएको छ । यो आठ दिनमा नौ जना स्कुल बसका चालकहरु कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

उहाँका अनुसार साउन ८ गते आइतबारदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारी साधनलाई कारबाही तथा सचेत गराउने अभियान चलाइएको छ । 

यस अन्तर्गत आज बिहानै काठमाडौं उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई ट्राफिक प्रहरीले नियमानुसार कारबाही गरेको जनाएको छ । यो अभियान निरन्तर सञ्चालन हुने प्रवक्ता भट्टले जानकारी दिनुभयो । 


मापसे गरेर विहानै गाडी चलाउँदा कारबाही पर्नेमा पाठशाला फाउन्डेसनको बा.१ क.४८७१ नम्बरका चालक पदमबहादुर ठकुरी, मगरुबु इन्टरनेशनल कलेज चुच्चेपाटीको बागमती–०१–००४क–०७९९ नम्बरका चालक सावा तामाङ, जोमियर इन्टरनेशल टुसालको बस नम्बर बा १९ च ५१४१ नम्बरका चालक सेजप भण्डारी, नेशनल अर्बिक बोर्डिङ स्कुलको बस नम्बर प्र–३–०१–०२५ च ३६९८ का चालक कोनाम लिम्बु र क्यापिटल हिल कलेजको बस बा १ क ९८३० नम्बरका चालक रमेश थापा रहेका छन् । 

आज कारबाहीमा पर्ने बस र बसका चालकमा बा.१ प.९०३१ नम्बर बसको चालक दिलबहादुर शाह, प्रदेश ३–०१०२२ च ७५८१ नम्बर बसका चालक रामकुमार तिमिल्सिना, बा २१ च ४६८ नम्बर बसका चालक चक्रबहादुर राना, ना.२ ख. नम्बरको बसका चालक हरिकृष्ण बस्नेत र बा.१ ज.६६४७ नम्बरको बसका चालक सन्तोस गुरुङ रहेको प्रवक्ता भट्टले बताउनुभयो ।

उहाँका अनुसार सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएको आरोपमा कलेजको बसलाई कारबाही गरिएको हो । “सिट क्षमताभन्दा धेरै विद्यार्थी बसमा चढाएको भेटिएको छ” प्रवक्ता भट्टले भन्नुभयो । आगामी दिनमासमेत निर्देशिका बिपरीत सञ्चालन हुने स्कुल बस र सवारीसाधनलाई कानूनबमोजिम कारबाही गर्ने कार्य निरन्तर रहने उहाँले बताउनुभयो । 


Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।