• २४ साउन २०७९, मङ्गलबार

पाटे बाघ बढ्दाको खुसी

blog

वन्यजन्तु संरक्षणको दिशामा नेपालले राम्रै फड्को मारेको छ। प्रकृतिको अनुपम उपहारमा रहेको पाटे बाघको सङ्ख्या लक्षित समयमा दोब्बरभन्दा बढी पार्ने पहिलो मुलुक बनेर नेपालले यो फड्को मारेको हो। यो विषय निश्चित रूपमा नेपाल राष्ट्र, संरक्षणकर्मी, आम नागरिक तथा समग्रमा विश्व वन्यजन्तु क्षेत्रका लागि खुसी एवं सन्तुष्टिका रूपमा लिन सकिन्छ। हुन पनि पाटे बाघ संसारकै दुर्लभ वन्यजन्तु हो। यो नेपाललगायत विश्वका १३ मुलुकमा मात्र पाइन्छ। चोरीसिकारी, बासस्थान तथा आहारा अभावलगायतका कारणले पाटे बाघ लोपोन्मुख अवस्थामा पुगेको थियो। लोप हुनु विश्व वन्यजन्तु एवं पर्यावरणीय दृष्टिकोणबाट निकै दुखद विषय थियो। परिणामस्वरूप बाघको विश्वव्यापी संरक्षण हरेक दृष्टिकोणबाट अति नै महत्त्वपूर्ण  रूपमा लिइन थाल्यो। फलस्वरूप सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्ग सहरमा पहिलो विश्व बाघ सम्मेलन सम्पन्न भयो। त्यस सम्मेलनले बाघ संरक्षणका निम्ति विभिन्न प्रयास गर्ने घोषणा ग-यो। त्यस क्रममा सन् २०२२ सम्ममा बाघ पाइने प्रत्येक मुलुकले यसको सङ्ख्या दोब्बर पु-याउने प्रतिबद्धतासमेत जनाइयो। यो प्रतिबद्धता वास्तवमै चुनौतीपूर्ण थियो। 

प्रथम विश्व बाघ सम्मेलनको एक दशकभन्दा बढी समय अर्थात् १२ वर्षपछि आज बाघको सङ्ख्या सम्बन्धमा नेपालमा परिवर्तित परिदृश्य देखिएको छ। यस अवधिमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धतअनुरूप बाघको सङ्ख्या दोब्बर पारेको छ। अझ विस्तृत रूपमा औँल्याउनुपर्दा यो सङ्ख्या दोब्बर मात्र होइन, दोब्बरभन्दा बढी नै पुगेको सुखद खबर अन्तर्राष्ट्रिय जगत्लाई दिएको छ। सगरमाथाको देशलाई पाटे बाघले फेरि संसारमा चिनाएको छ। सन् २०१० मा नेपालमा पाटे बाघको सङ्ख्या १२१ रहेको निक्र्योल गरिएको थियो र सन् २०२२ सम्ममा यो सङ्ख्या दोब्बर अर्थात् २५० पु-याउने मात्र अन्तर्राष्ट्रिय प्रतिबद्धता नेपालको थियो तर नतिजा असाध्यै उत्साहजनक देखियो। शुक्रबार राजधानीमा विश्व बाघ दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गर्नुभएको चोथौ राष्ट्रिय बाघ गणनाको प्रतिवेदनअनुसार नेपालमा पाटे बाघको सङ्ख्या ३५५ पुगेको छ। यो सङ्ख्या नेपालले १२ वर्षअघि प्रतिबद्धता जनाएको भन्दा १०५ ले बढी हो। 

नेपाल प्रकृति संरक्षणमा विश्वमै उम्दो देखिएको छ। प्रतिबद्धताअनुरूप पाटे बाघको सङ्ख्या दोब्बरभन्दा बढी बनाउन सफल पहिलो राष्ट्रका रूपमा संसारमा चिनिएको छ। नेपालका लागि यो खुसी तथा गौरवको क्षण हठात् प्राप्त भएको पक्कै पनि होइन। बाघको सङ्ख्या बढाउन ठूलो योजना र मेहनत छ। सरकारको योजना र सम्बद्ध निकाय तथा संरक्षणकर्मीहरूको ठूलो योगदान छ। बाघको चोरीसिकारीमा नियन्त्रण, बासस्थान व्यवस्थापन तथा सहज आहारा प्राप्ति जस्ता कारणले समेत बाघको सङ्ख्या उल्लेखनीय वृद्धि भएको हो। पाटे बाघको सङ्ख्यामा भएको वृद्धिले वन्यजन्तु संरक्षणमा नेपालको अन्तर्राष्ट्रिय छवि एवं प्रतिष्ठा निकै उँचो भएको छ। आगामी दिनमा नेपालले अन्तर्राष्ट्रिय रूपमा प्रत्यक्ष र परोक्ष फाइदा दिन सक्ने अवस्था सिर्जना भएको छ। त्यस्तो फाइदा निहित स्वार्थभन्दा पनि नेपालको आर्थिक तथा सामाजिक विकासका लागि उपयोगी हुन सक्नुपर्छ।

देशका किल्लाभित्र बाघ हुर्काउनु र फैलाउनु चुनौतीविहीन छैन। मानवीय क्षतिसमेत सानो छैन। नरभक्षी बाघले क्षति गरेका समाचार बारम्बार आइरहन्छन्। यो पक्षलाई व्यवस्थापन गर्दै बाघलाई नेपालको गुणस्तरीय पर्यटन प्रवद्र्धनमा लगाउनु जरुरी छ। बाघको सङ्ख्या वृद्धिसँगै चुनौतीका नयाँ शृङ्खला थपिन सक्छन्। संरक्षण क्षेत्र बढाउनुपर्ने हुन सक्छ। बाघको सङ्ख्या वृद्धिले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा खुसी छाए पनि स्थानीयमा त्रासले घर गर्न सक्छ। मानव वन्यजन्तुको द्वन्द्वका नयाँ आयाम देखापर्न सक्छन्। ती पक्षको व्यवस्थापनका लागि थप साधन र स्रोत आवश्यक पर्न सक्छ। पर्यावरण संरक्षण देशीय मामिला मात्र नभई अन्तर्राष्ट्रिय मुद्दा बनेको छ। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा बाघको वृद्धिबाट आउने चुनौतीको खुलेर कुरा गर्न सक्नुपर्छ र थप स्रोत व्यवस्थापनका लागि हातेमालो गर्न सक्ने प्रस्ताव तयार गर्नुपर्छ। देशका तीनै तहका सरकारबीचको प्रभावकारी समन्वयबाट थप संरक्षणका क्षेत्रमा जानुपर्छ। उपलब्धि हासिल गर्नु ठूलो कुरा हो तर त्यसलाई जोगाएर दीर्घकालीन योजनामा अगाडि बढ्नु वाञ्छनीय छ।