• १६ चैत २०८०, शुक्रबार

अनुसन्धान ब्यूरोको ठहर

भ्रमण भिसाको दुरुपयोग बढ्यो

blog

काठमाडौं, साउन १२ गते। नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य खाडी मुलुक हुन्। यूएईमा मात्र अहिले भ्रमण भिसामा करिब १० हजार नेपाली छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोका सूचना अधिकारी (एसपी) दानबहादुर मल्लका अनुसार भ्रमण भिसाको दुरुपयोग बढ्दै गएको छ। विदेश जाने सबै नेपाली चनाखो हुनुपर्ने उहाँको सुझाव छ।

उहाँका अनुसार नेपालबाट भ्रमण भिसामा विदेश जाने र त्यहाँबाट अरब देश सिरियामा जाने काम हुन्छ। “त्यहाँ एकदमै नारकीय जीवन बिताउन बाध्य हुनुपर्छ” उहाँले भन्नुभयो, “एउटा हाउसमेटको रुपमा काम गराइन्छ। जबकी कुवेत, ओमन लगायतका देशमा नेपाली महिलालाई जान अनुमति नै छैन।” त्यहाँ महिलालाई दलालले पठाउने गरेका छन्। 

अपराध हुनुभन्दा हुनै नदिने कुरामा सचेत हुनु सबैको जिम्मेवारी भएको मल्लले बताउनुभयो। तर, घटना भइसकेपछि कानुनी कारबाही तथा पीडितको उद्धार गर्नुभन्दा अपराध हुनबाट जोगाउनु नै महत्त्वपूर्ण हुने भएकाले बेचबिखन तथा ओसारपसारमा पर्नुभन्दा अगाडि नै पीडितको खोजी तथा उद्धार गर्नुपर्ने हुन्छ।  

"एक महिनाको अवधिमा ५० जना नेपालीलाई विदेशबाट उद्धार गरेर ल्याएका छौँ, उद्धार गरेर ल्याइसकेपछि आफूलाई त्यहाँ लगेर कसले बेचेको हो, त्यसको विरुद्धमा जाहेरी नदिने बानीले अनुसन्धानमा ठूलो समस्या छ ।"

“सरकारी मान्यता प्राप्त मेनपावरले पठाउनु पर्नेमा अरु मानिसले पठाउँदा मानिस विदेशमा अलपत्र पर्ने गरेका छन्, खाडी मुलुकमा महिला धेरै छन् भने यूरोपियन देशमा पुरुष छन् । यसरी अनुमान गर्दा यूएईमा मात्र भ्रमण भिसामा दशौँ हजार मानिस पुगेका छन्,” एसपी मल्लले भन्नुभयो, “यो एक महिनाको अवधिमा ५० जना नेपालीलाई विदेशबाट उद्धार गरेर ल्याएका छौँ, उद्धार गरेर ल्याइसकेपछि आफूलाई त्यहाँ लगेर कसले बेचेको हो, उसकाे विरुद्धमा जाहेरी नदिने बानीले अनुसन्धानमा ठूलो समस्या छ ।” त्यसले आश गरेअनुसार अनुसन्धानको काम नभएको एसपी मल्लको भनाइ छ । 

पीडितले पहिले विदेश जाँदा दलाललाई पैसा दिएका हुन्छन् । दलालले दिने विभिन्न धम्कीका कारण पीडितले उजूरी दिन नसकेकाे उहाँकाे भनाइ छ । “दलालको धम्कीले विदेशबाट फर्केकाहरुले उजूरी दिन मान्दैनन्  । दलालले विभिन्न प्रलोभन देखाएर प्रभावित पार्ने गरेका छन्” , मल्लले भन्नुभयो,  “त्यसरी आफू सुरक्षित हुने र फेरि अर्को ठाउँमा जाने चलन छ । आफू कुन च्यानलबाट विदेश जाँदैछु भन्ने थाहा पनि नहुने मानिस फस्ने गरेका छन् ।”

एसपी मल्ल यसका लागि सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य गरेर जनचेतना एवम् सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुन्छ ।  मानव बेचबिखनको नयाँ–नयाँ स्वरुपलाई सामना गर्न दक्ष जनशक्ति तथा प्रविधिको विकास गर्न ब्यूराेले तालिम सञ्चालनलगायतको काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । 

एसपी मल्लका अनुसार न्याय दिने क्रममा कुनै किसिमको हानी, नोक्सानी, पीडा, धरपकड हँदैन । उद्धारका क्रममा पीडितको संरक्षण, अनुसन्धानका क्रममा साक्षीको संरक्षण, अदालती कारबाही वा सुनुवाइको क्रममा पीडितको संरक्षण र फैसला कार्यान्वयनपछि पीडित र साक्षीको संरक्षणलाई प्राथमिकतामा राखेर प्रहरीले काम गर्दै आएकाे उहाँकाे भनाइ छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था सुरक्षा निकायबीच सूचना आदनप्रदान गरी समन्वयकारी भूमिका ब्यूराेले निर्वाह गर्छ । “उद्धार भएर आएका व्यक्तिको पुनः स्थापना मनोसामाजिक परामर्शलगायतको काम हामीले गरिरहेका छौँ”, एसपी मल्लले भन्नुभयो, “मानव बेचबिखन तथा ओसारपसारको चरित्र समय अनुसार फेरिएको छ । अपराधिक कार्य, विगतमा भएका मानव बेचबिखन तथा ओसारपसारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेर भावी रणनीति र योजना तयार गरेका छौँ ।”

आफू कुन च्यानलबाट विदेश जाँदैछु भन्ने थाहा पनि नहुने मानिस फस्ने गरेका छन् ।

बेचबिखनका अपराधमा संलग्न सञ्जालको गहनतालाई दृष्टिगत गरी एक वा एकभन्दा बढी जिल्ला, क्षेत्र तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा फैलिएको मानव बेचबिखन तथा ओसार पसारसम्बन्धी अपराधको अनुसन्धान भइरहेको उहाँकाे भनाइ छ ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय प्रकृतिका अनुसन्धान तथा मानव बेचबिखन तथा ओसारपसार अपराधमा दुई देशको आपसी समस्या वा दुईभन्दा बढी देशमा फैलिएको संगठित अपराधविरुद्ध विभिन्न देशका प्रहरी मिलेर अनुसन्धान तथा कारबाही गर्नुपर्ने अवस्था आएमा सोहीअनुरुप नियमअनुसार इन्टरपाेलकाे समन्वयमा अनुसन्धान तथा कारबाही पनि गरिरहेको एसपी मल्लले बताउनुभयो । 

मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रण गर्न मातहत कार्यालयबाट आएका मुद्दामा प्राविधिक जनशक्तिको प्रयोग गरेर ब्यूरोले अनुसन्धान गर्दै आएको छ । 

रोजगार विभागसँग प्रहरीको समन्वय

भ्रमण भिसामा ठगिएका पीडितका लागि प्रहरीले वैदेशिक रोजगार विभागसँग मिलेर काम गरिरहेको छ । “त्यसका लागि प्रहरीको एउटा टोली नै विभागमा खटिएको छ” मल्लले भन्नुभयो, “वैदेशिक रोजगार विभागको कार्यालयमा गएर ठगिएका व्यक्तिले निवेदन दिएपछि वैदेशिक रोजगारीमा ठगिएका व्यक्तिकाे अनुसन्धान कसले गर्ने भन्ने विभागले ताेक लगाएर प्रहरीको यूनिटमा आएपछि अनुसन्धान सुरु हुन्छ ।”

वैदेशिक रोजगार विभागमा प्रहरीको ‘वैदेशिक रोजगार न्यायाधीकरण’ नामक प्रहरीको यूनिट छ । त्यसमा मुद्दा दर्ता हुन्छ । मुद्दाको दर्ता भएपछि अनुसन्धान हुन्छ । वैदेशिक रोजगार विभाग र प्रहरीको संयुक्त टोलीले निगरानी तथा अप्रेशनसम्बन्धी केशमा एक अर्को संस्थामा सूचना आदानप्रदान तथा संयुक्त रुपमा अनुसन्धान गर्ने काम हुन्छ । 

सहकार्यलाई अझ सुदृढ बनाउन वैदेशिक रोजगार विभागमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । वैदेशिक रोजगार विभागमा दर्ता भएका मुद्दाको अनुसन्धान फरक ढंगले हुने गरेको छ । नेपाल प्रहरीका अनुसन्धान अधिकृतले ठगी मुद्दामा संलग्न प्रतिवादी विदेशमा भए पक्राउ गर्नका निम्ति इन्टरपोलसँग समन्वय गर्ने गर्छन् । फरार प्रतिवादीको खोजतलासका लागि मोबाइल विवरण माग गर्ने तथा विष्लेषण गर्ने काम पनि ब्यूरोले गर्दैआएको एसपी मल्लले बताउनुभयो । 

ब्यूरोले गरेका काम 

हालसम्म वैदेशिक रोजगार विभाग प्रहरी शाखा स्थापना भएदेखि दुई करोड २३ लाख ४० हजार ५०० रुपियाँ उठेको छ। जसमध्ये शाखाले पीडितलाई एक करोड ८८ लाख ६२ हजार रुपियाँ उपलब्ध गराइएको छ। मानव बेचबिखन तथा ओसारपसारमा ब्यूरोको पहलमा अध्यागमन विभागसँग समन्वय गरेर अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने शंकास्पद व्यक्तिबारे सूचना आदानप्रदानको काम हुँदै आएको छ। 

भ्रमण भिसाको प्रयोग गरी विदेश जान लागेका व्यक्तिलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर सोधपुछ तथा परामर्श गर्न नियन्त्रणमा लिएका व्यक्तिबाट प्राप्त सूचनाको आधारमा संलग्न व्यक्तिको विवरण लिएर अनुसन्धानलाई अगाडि बढाउन सहज भएको ब्यूरोले बताएको छ। ब्यूरोले मानव बेचबिखन रोक्न अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालका मुख्य सात वटा नाकामा सूचना ‘डिजिटल डिस्प्ले बोर्ड’ जडान गरेको छ।

प्रलोभनमा नपर्न अनुरोध

गृहमन्त्रालयले भ्रमण भिसालाई पर्यटकको रुपमा मात्रै प्रयोग गर्न र कसैको प्रलोभनमा नपर्न अनुरोध गरेको छ। पछिल्लो समय भ्रमण भिसामा विदेश गएर अलपत्र पर्ने, काम नपाउने र गन्तव्य देशबाट प्रवेश निषेध गरेपछि स्वदेश फर्किनुपर्ने  समस्या देखिएको गुनासो आएपछि मन्त्रालयले यस्तो अनुरोध गरेको हो। गैर कानुनी रुपमा विदेश पुग्ने र स्वदेश फर्किन समस्या पर्ने भन्दै मन्त्रालयले कानुनी आधारमा मात्र निर्णय गर्न अनुरोध गरेको हो। 

विदेश जाने व्यक्तिले प्रचलित कानुनअनुसार श्रम स्वीकृतिलगायतका प्रक्रिया पूरा गरेर मात्र जान मन्त्रालयको अनुरोध छ। स्थानीय तहलेसमेत आफ्नो क्षेत्रका नागरिकले विदेश भ्रमण वा रोजगारीमा जाँदा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको छ। 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।