ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक ७ गते । अन्नपूर्ण हिमालको काखमास्थित सुन्दर पञ्चकुण्ड ताल र ताल छेउमा मनमोहक दृष्यसाथ यसपालीको भाइटीका लगाइएको छ ।
खुलेको निलो आकाश, टल्किएको अन्नपूर्ण हिमाल र ताल छेउमा भाइबहिनीबिचको आत्मीय मायाको त्यो क्षणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा नयाँ आयाम थपेको दाबी गरिएको छ । प्रकृति र सम्बन्धको सुन्दर सङ्गम बनेको यस दृश्यले पर्वको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई एकसाथ उजागर गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित चार हजार ५० मिटरको उचाइमा अवस्थित पञ्चकुण्ड तालमा पुगेर भाइटीका लगाउने झापा दमककी सिसम बजगाइँ र उहाँका भाइ सिजल बजगाई हुनुहुन्छ । भाइटीका लगाउन उहाँहरू अघिल्लो दिन मौरिस हर्जोग पदमार्ग हुँदै पञ्चकुण्ड ताल पुग्नुभएको थियो ।
पछिल्लो समय आन्तरिक पर्यटको रोजाइमा परेको अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड तालमा पुगेर भाइटीका लगाउने रहरले आफूहरू त्यहाँ पुगेको सिसमले बताउनुभयो । श्रीमान् कैलाश ढकालसहित तीन जना तिहारको अघिल्लो दिन मौरिस हर्जोग पदमार्ग हुँदै ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर स्थित पञ्चकुण्ड तालमा पुगेको उहाँले बताउनुभयो ।
तिहारको बिहान तालको छेउमा बसेर सिसमले सयपत्री फूलको माला बनाउनुभयो । भाइलाई धार्मिक विधिअनुसार टीका लगाएर माला लगाइ दिनुभयो । भाइले पनि दिदीलाई टीकासहित माला लगाइ दिनुभयो ।
पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पञ्चकुण्ड तालमा पुगेर भाइटीका लगाउने उद्देश्यका साथ पदयात्रा गरेको सिसमले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पञ्चकुण्ड तालमा पुगेर भाइटीका लगाउने रहर पूरा भएको छ । पञ्चकुण्ड ताल धार्मिक र प्राकृतिक हिसाबले पनि निकै महत्त्वपूर्ण छ । हिमालको फेदीस्थित सुन्दर तालको छेउमा बसेर भाइटीका लगाउन पाउँदा गौरबको अनुभूति भएको छ ।’’

तीन दिनको पदयात्रा निकै रमाइलो भएको पनि उहाँले अनुभव सुनाउनुभयो । नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ । हुम खोलाबाट दुई दिनमा आधार शिविर पुग्न सकिन्छ । छोटो दूरी र रोमाञ्चक यात्रा भएकाले आन्तरिक पर्यटको रोजाईमा यतिखेर आधार शिविर बनेको छ ।
पदमार्गमा झरना, मनमोहक हिमशृङ्खला अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेष्टुरेण्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण र पदमार्ग मर्मत सम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ ।
पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र आकर्षक पर्यटकीय गन्तब्यका रूपमा विकास भएको छ ।