• १४ असार २०८१, शुक्रबार

अलपत्र चिस्यान केन्द्र

blog

नवराज श्रेष्ठ

रामेछाप, साउन १२ गते । जिल्लाको मन्थली नगरपालिका–१ मा निर्माण गरिएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अलपत्र परेको छ । 

बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड दस लाख रुपियाँको लागतमा साझेदारीमा चिस्यान केन्द्र निर्माण भएको हो । गत आर्थिक वर्ष २०७८÷७९ बाटै सञ्चालन हुनुपर्ने यो चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्दा जिल्लामा उत्पादित जुनारलगायतका अमिलो जातका फलफूल, किवी, आलु र तरकारी उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् ।

चिस्यान केन्द्रको व्यवस्थापनका लागि सामान्य घेराबारसमेत नहुँदा अहिले सवारी पार्किङ र कुकुरलगायतका पशु चौपाया बस्ने थलो बनेको स्थानीय पूर्ण सुवेदीले बताउनुभयो । 

“यो चिस्यान केन्द्र निर्माण सुरु भएको दुई वर्ष पूरा भयो, गत वर्ष नै सञ्चालनमा आउनुपर्ने थियो तर दयालाग्दो अवस्थामा छ, मोटरसाइकल, ट्याक्टरलगायतका सवारी पार्किङ स्थलजस्तै बनेको छ” उहाँले भन्नुभयो । 

प्रदेश सरकार र मन्थली नगरपालिकाको लगानीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालनमा कसैले चासो नदिएको अर्का स्थानीय शान्ता न्यौपानेले बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र अवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताउनुभयो ।

प्रदेशले गत आर्थिक वर्षमा नै नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो तर अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन, जसले गर्दा चिस्यान केन्द्र सञ्चालन र व्यवस्थापनमा समस्या भएको हो, उहाँले भन्नुभयो छिटोभन्दा छिटो हस्तान्तरण गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छौँ ।