• ४ साउन २०८१, शुक्रबार

फोहोर व्यवस्थापनमा नयाँ रणनीति आवश्यक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १२ गते ।  सहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ खोज्नुभन्दा त्यसबाट बिजुली, ग्यास र मल बनाउन नयाँ रणनीति तयार गर्नुपर्ने बताउनुभएको छ। उहाँले फोहोर व्यवस्थापनको नाममा मुलुकभरि नयाँ सिसडोल र बन्चरेडाँडा निर्माण गर्न नसकिने स्पष्ट पार्नुभयो। 

पदबहाली गरेको एक महिना पुगेको अवसरमा मन्त्रालयद्वारा भएका कामबारे जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो। उहाँले असार १३ गते सहरी विकासमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो। नयाँ सिसडोल र बन्चरेडाँडाको खोजी गर्नु फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुन नसक्ने बताउँदै उहाँले सहरी विकास मन्त्रीका रूपमा आफ्नो छोटो कार्यकालमा नै फोहोरबाट बिजुली, ग्यास र मल बनाउन सकिने प्रक्रियाको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बागमती नदीलाई सफा गर्न मुहानबाट नै प्रशस्त पानी प्रवाह गर्नुपर्ने बताउँदै उहाँले जिम्मेवारीको हिसाबले आफू मन्त्री भए पनि मुलुकको निर्माणको जिम्मेवारी सबैको रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले आफूले कार्यभार सम्हालेको करिब एक महिनाको अवधिमा फुसको छानालाई विस्थापन गरी जस्तापाताको छाना लगाउने कार्यक्रमअन्तर्गत करिब १५ हजारको सङ्ख्यामा आवास एकाइको निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको यो कार्यक्रमअन्तर्गत अहिलेसम्म करिब ४० हजार आवास निर्माण भइसकेका छन्। 

उहाँले गत आर्थिक वर्ष २०७८/७९ मा पुँजीगततर्फ ६९.९५ प्रतिशत र चालूतर्फ ७३.२८ प्रतिशत खर्च भएको जानकारी दिनुभयो। उहाँका अनुसार सो आर्थिक वर्षमा मन्त्रालयको समग्र प्रगति ७०.१४ प्रतिशत रहेको छ। मन्त्रालयको आगामी एक सय दिनको कार्ययोजना सार्वजनिक गर्दै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रका सडकलाई पैदल यात्रीमैत्री बनाउन फुटपाथ निर्माण, विस्तार र पुनस्र्थापनाका लागि छुट्टै आयोजना सञ्चालन गर्ने बताउनुभयो।