• २२ असार २०८१, शनिबार

मुगुका कृषि विकास कार्यालय प्रमुखमाथि २३ लाखको भ्रष्टाचार आरोप

blog

फाइल तस्बिर

काठमाडौं, साउन ११ गते। कृषि विकास कार्यालय मुगुका तात्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढामाथि २३ लाखभन्दा बढीको भ्रष्टाचार आरोप लागेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बुढासहित सो कार्यालयका सव-इन्जिनियर राजेन्द्र शाहीले छायानाथ रारा नगरपालिका वडा नम्बर १० स्थित तीन मुखेदेखि कृषि सिंचाई आयोजनाको यथार्थ नाप जाँचसहितको मूल्यांकन नगरेको आरोप लागेको हो।

आरोपितले मिलेमतोमा उपभोक्ता समितिलाई २३ लाख दश हजार ५९६ रुपियाँ बढी रकम भुक्तानी गरेको जनाइएको छ। समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढासँग गैरकानूनी लाभ पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ। 

यसैगरी, कार्यालयका तात्कालीन ना.प्रा.स. मणिचन्द्र विक, तात्कालीन खरिदार विश्वास उपाध्यायले सो आयोजनाको काम सम्झौता अनुरुप पाइएको भनी कुरा लुकाईछिपाई गरेको आरोप लागेको छ। 

आयोगले छायाँनाथ रारा नगरपालिका वडा नं. १० का तात्कालीन वडाअध्यक्ष धर्मदत्त सावतले पनि सो आयोजनाको काम हचुवाको भरमा मिलेमतोमा काम सम्पन्न भएको भनी भुक्तानी दिन सिफारिस गरेको आरोप लागेको जनाएको छ।