• २१ जेठ २०८१, सोमबार

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि

blog

काठमाडौं, साउन ११ गते । मङ्गलबार उच्च अङ्कले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ । आज नेप्से सूचक २३.८३ अङ्कले बढेर २१११.९९ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५३ अङ्कले बढेको छ भने फ्लोटइण्डेक्स १.५१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अङ्क बढेको छ ।

बुधबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपियाँ बराबरको कारोबार भएको छ । मङ्गलबार तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ । विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ ।

नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ ।

कारोबारमा आएका जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेष्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ ।

शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपियाँको शेयर कारोबार भएको छ ।