• २१ असार २०८१, शुक्रबार

परिणाम देखिने गरी अनुसन्धान गर्नुहाेस् : स्वास्थ्य मन्त्री खापुङ

blog

काठमाडौं, साउन ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले परिणाम देखिने गरी अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई निर्देशन दिनुभएको छ ।

बुधबार परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसँग जोडिएको बताउनु हुँदै परिणाम देखिने गरी अनुसन्धान गर्न निर्देशन दिनुभएको हो । मन्त्री खापुङले परिषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘परिषद्को कर्मचारी विनियमावली चार वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न  गर्छौ ।’’ स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्न केन्द्रित हुनुपर्ने बताउनुभयो । 

राज्यमन्त्री केसीले भन्नुभयो, ‘‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ । परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको  प्रवर्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।’’ 

उहाँले परिषद्लाई सङ्घीय संरचना बमोजिम सञ्चालन गर्नुपर्ने बताउनुभयो । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले परिषद्ले हालसम्म गरेका अनुसन्धान र परिषद्को संरचनाबारे जानकारी दिनुभएको थियो ।