• २२ असार २०८१, शनिबार

बिरामी महिलाको निशुल्क हवाइ उद्धार

blog

शिवराज ढुङ्गाना 

अछाम, साउन ११ गते । पेटमै बच्चा मरेपछि सुत्केरी हुन नसकेपछि महिलाको निःशुल्क हवाइ उद्धार गरिएको छ । मङ्गलसेन नगरपालिका–११ जुपु निवासी ३० वर्षीया सीता रावलको जिल्लामा उपचार हुन नसकेपछि निःशुल्क हवाइ उद्धार गरेर सुर्खेत लगिएको हो । 

आठ महिनाकी गर्भवती सीताको पेटमै बच्चा मरेको चार दिनपछि उहाँको उद्धार गरिएको छ । “एक हप्तादेखि बच्चा नचलेको रहेछ, मरेको बच्चा निकाल्न प्रयास भयो, नसकिएपछि रेफर गरिएको हो” अछाम अस्पतालका डा. अतुल भारद्वाजले जानकारी दिनुभयो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट सीतालाई उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताउनुभयो । जिल्ला अस्पताल अछामबाट सीतालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । गत आर्थिक वर्षमा अछामबाट १३ जना गर्भवती तथा सुत्केरीको निशुल्क हवाइ उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।