• ८ असार २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा चार देशका आवासीय राजदूत नियुक्त

blog

फाइल तस्बिर

काठमाडौं, साउन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले चार देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रपति भण्डारीले मिलनराज तुलाधारलाई रूसी महासंघका लागि र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यसैगरी, भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिनुभयो ।