• १३ वैशाख २०८१, बिहिबार

दश दिनदेखि इनरुवा नगरपालिकाको काम ठप्प

blog

काठमाडौं, साउन १० गते । स्थानीय तहमा चुनिएका नवनिर्वाचित पदाधिकारीहरुले करारमा आफ्ना मान्छेलाई राखेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारीहरु गत १० दिन यता निर्वाचित जनप्रतिनिधिले आफ्ना मान्छे बाहेक अरुलाई निकालेको भन्दै आन्दोलन गरेका हुन् । कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ । करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिदा नगरसहित वडाको कामकाज प्रभावित बनेको छ ।

कार्य मूल्याङ्कनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्कासनमा परेका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । निस्कासनमा परेका कर्मचारीहरुले राजनीतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन् ।

नगरपालिकाका प्रमुख केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यकता नपरेकोले हटाएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने बताउनुभयो । करार म्याद थप नहुने दाबी उहाँले गर्नुभयो ।

इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ । विवादको समाधानका लागि प्रमुख भण्डारीले भने २० गतेसम्मको समय माग गर्नुभएको छ ।