• २९ वैशाख २०८१, शनिबार

झन्डाको आविष्कार

blog

 त्रिचन्द्र प्रतीक्षा 

झन्डा शब्दको अर्थ नेपाली बृहत् शब्दकोशमा डन्डाको टुप्पामा जोडिने र खास गरी भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक वा चिह्न अङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा, त्यस्तै आकारमा बनेको कागत, धातु आदिको टुक्रो, परिचायक चिह्न, ध्वजा, पताका, भनेर उल्लेख गरिएको छ।

संसारमा पहिलो झन्डा कुनै देश, प्रदेश वा सेनाको थिएन। त्यो समयमा केवल झन्डाको प्रयोग दुष्टात्मा र भूतप्रेतबाट बच्नका लागि प्रयोग गरिएको थियो। मानिसले आफ्नो घरको छतमा बाँसको माथिल्लो भागमा रङ्गिन कपडाको विशेष आकार प्रकार र रूप रङ अर्थात् जसमा डरलाग्दो जनावरको मुखाकृति वा गाउँका पण्डित पुरोहितले भनेको कुनै निशान छाप राखेर फहराइन्थ्यो।

गाउँमा हुने चाडपर्व वा मेला लाग्दा पनि यस्तै झन्डामुनि मानिस भेला हुने गर्दथे। झन्डामा रहेको आकृति देखेर दुष्टात्मा र भूतप्रेत डराएर भाग्दछ भन्ने जनविश्वास थियो।

इसापूर्व पाँच शताब्दी पहिले चीनमा झन्डा आकारमा ड्रेगनको चित्र बनाइएको थियो। उक्त झन्डा फहराउँदा ड्रेगन आफ्नो लामो जिब्रो लप्काउँदै अगाडि बढेको जस्तो देखिन्थ्यो। चिनियाँहरूलाई के विश्वास थियो भने यसलाई देखेर शत्रु डराएर भाग्नेछन्।

विभिन्न स्थानका मानिसले कपडामा फरक फरक आकृति प्रयोग गर्दथे। तिनै आकृति क्रमशः त्यो गाउँ, ठाउँ वा प्रदेशको प्रतीक बन्न पुगे। यसरी विभिन्न राष्ट्रका झन्डा लोकप्रिय हुँदै गए। इस्वी संवत्को १०औँ शताब्दीसम्म विभिन्न राष्ट्र र ती देशका सेनाको विभिन्न आकार प्रकारको झन्डा बनाइएको थियो। यस्तो झन्डा विशेषगरी युद्ध मैदानमा सेनापति र राजा दुवैले प्रयोग गर्दथे।

कुनै लडाइँमा सहभागी हुनका लागि सेनापतिको झन्डा सैनिक जत्थाको अघिअघि हुने गर्दथ्यो भने राजाको झन्डा सैनिकको बीचमा। राजाको झन्डालाई एकदम सुरक्षित तवरले प्रयोग गरिन्थ्यो, कुनै पनि मूल्यमा उक्त झन्डा भुईंमा खस्न दिइँदैन थियो। राजाको झन्डा झर्नु, खस्नु भनेको सेनाको पराजय भएको मानिन्थ्यो।

सबैभन्दा पहिले चीन, भारत वा रोमवासीले कपडाको झन्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन। ब्रिटानिका विश्वकोषका अनुसार, इसाापूर्व ११२६ मा चीनमा रहेको झाओ राजवंशका बेला सेतो रङको झन्डा प्रयोग भएको प्रमाण फेला परेको छ।

हरेक राष्ट्रको झन्डाको पछाडि कुनै न कुनै कथा जोडिएको पाइन्छ वा झन्डाले त्यो राष्ट्रको विशेष सन्दर्भको कुनै न कुनै अर्थ बोकेको हुन्छ।

सेतो पट्टी भएको अस्ट्रियाको रातो झन्डा पछाडि एउटा रोचक कथा छ। भनिन्छ एक जमानामा अस्ट्रियाली सेना ठूलो युद्धमा नराम्ररी पराजित भएको थियो। युद्धमा सिपाहीहरूले आफ्नो प्राणको आहुति दिएर झन्डाको रक्षा गरिरहे। अन्ततः झन्डा पनि भुईंमा खस्यो। त्यसैबेला रगतले लतपतिएका सिपाहीले आफ्नो लुगा फुकालेर हल्लाए। रगतले लुगा पूरै रातो थियो तर जहाँ ती सिपाहीले झोला बाँधेका थिए, त्यहाँ सेतो पट्टी जस्तो आकृति बनेको थियो। त्यस समयदेखि अस्ट्रियाले सोही आकृतिलाई झन्डाका रूपमा प्रयोग गर्न थाल्यो।

संसारको सबैभन्दा पुरानो राष्ट्रिय झन्डा डेनमार्कको झन्डालाई मानिन्छ। जुन सर्वप्रथम सन् १२१९ मा प्रयोगमा आएको थियो। त्यसपछि सन् १३३९ मा स्विट्जरल्यान्डले पनि आफ्नो राष्ट्रिय झन्डा बनायो। १९औँ शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफ्नो राष्ट्रिय झन्डा छनोट गरिसकेका थिए। 

अमेरिकाको झन्डालाई द स्टार्स एन्ड स्ट्राइप्स वा वल्र्ड ग्लोरी पनि भनिन्छ भने झन्डामा हुने ५० वटा तारा त्यहाँका ५०  राज्यको प्रतीक हुन्। यसैगरी भारतको तीन रङ बनाइएको झन्डाले वीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ। रुसको झन्डामा अङ्कित हँसिया र हथौडा क्रमशः किसान र औद्योगिक मजदुरको चिह्न हुन्। 

रातो झन्डाले चेतावनी सङ्केत गर्दछ। राजनीतिमा भने रातो झन्डाले समाजवाद वा साम्यवादलाई जनाउँछ। यस्तै सेतो झन्डाले अन्तर्राष्ट्रिय रूपमा युद्धविराम सङ्केत गर्दछ भने कालो झन्डाले विरोध गरिएको जनाउँछ। 

विश्वमा रहेका सबै राष्ट्रका झन्डाले आ–आफ्नो इतिहास बोकेका छन्। झन्डालाई राष्ट्रले ठूलो सम्मान दिएका हुन्छन्। यसको संरक्षण तथा सम्मान गर्नु सबै नागरिकको दायित्व पनि हो।

हाम्रो झन्डामा भएका रङ र आकारको पछाडि विशेष अर्थ छन्। दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झन्डा जस्तो झन्डा संसारमा कसैको पनि छैन। नेपालको झन्डामा रहेको तीन रङलाई सत, रज र तम गुणको प्रतीक मानिन्छ भने झन्डाको नीलो किनाराले शान्ति र एकता, सिम्रिक रङले हाम्रा पुर्खाको वीरता, सूर्य र चन्द्रमाले हाम्रो देश सूर्य र चन्द्र जस्तै सधैँ अमर रहने जनाउँछन्। 

नेपालको राष्ट्रिय झन्डा विश्वमै पृथक मौलिकताको एक जीवन्त नमुना हो र यसका डिजाइनर हुन् कलाकार तथा इन्जिनियर शङ्करनाथ रिमाल।