• १२ साउन २०८१, शनिबार

उन्नाइस खर्बको आयात, दुई खर्बको निर्यात

बजेटकै हाराहारीमा व्यापार घाटा

blog

काठमाडौँ, साउन १० गते  । देशमा एक वर्षको अवधिमा आयात र निर्यात दुवै बढेर नयाँ रेकर्ड कायम गरेको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । यो वर्ष २४.७२ प्रतिशतले आयातमा वृद्धि भएको हो । अघिल्लो वर्ष १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपियाँको आयात भएको थियो । 

आर्थिक वर्ष २०७८/७९ मा निर्यात ४१.७४ प्रतिशतले बढेर दुई खर्ब ३० करोड नौ लाख ६२ हजार रुपियाँको आयात भएको छ । अघिल्लो वर्ष एक खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपियाँको आयात भएको थियो । यो वर्ष निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।  सरकारले विदेशी मुद्रा सञ्चिति गर्न आयातमा कडाइ गरे पनि आयात बढेर अहिलेसम्मकै उच्च अवस्थामा पुगको छ । 


आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा २३ प्रतिशतले बढेर १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपियाँ पुगेको छ । चालू आर्थिक वर्षको बजेटकै हाराहारीमा व्यापार घाटा भएको छ । गत वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपियाँ व्यापार घाटा थियो । चालू आर्थिक वर्ष २०७९/८० मा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । एक वर्षमा मुलुकको वैदेशिक व्यापारको आकार २६ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ४७ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख ४८ हजारको वैदेशिक व्यापार थियो । 

पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले निर्यात बढ्नु सकारात्मक भए पनि उत्साहित हुनुपर्ने अवस्था नभएको बताउनुभयो । “स्वदेशमा रोजगारी सिर्जना हुने र मूल्य अभिवृद्धि (भ्यालुएड) हुने वस्तुको निर्यात बढेको छैन,” उहाँले भन्नुभयो, “९३ अर्ब रुपियाँको तेलको कच्चा पदार्थ आयात भएर एक खर्ब १३ अर्बको निर्यात भए पनि स्वदेशी उत्पादन नभएकाले खासै सकारात्मक प्रभाव देखिँदैन ।” वाणिज्य नीति र एकीकृत व्यापार रणनीति (एनटीआईएस)ले पहिचान गरेका वस्तुको उत्पादन बढाएर निर्यात बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

भारतबाट १२ खर्बको आयात 

छिमेकी मुलुक भारतबाट एक वर्षमा १२ खर्ब १५ करोड २७ लाख २८ हजार रुपियाँको आयात भएकामा एक खर्ब ५५ अर्ब २२ करोड २३ लाख चार हजार रुपियाँको निर्यात भएको छ । भारतसँग मात्र १० खर्ब ४४ अर्ब ९३ करोड चार लाख २४ हजार रुपियाँ व्यापार घाटा रहेको छ । चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँको आयात भएकामा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको निर्यात भएको छ । 

विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा  मुलुकमा सबैभन्दा धेरै तीन खर्ब ८३ अर्ब ९२ करोड रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १९ प्रतिशत छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले ठूलो रकमको पेट्रोलियम पदार्थ आयात भएको छ । एक खर्ब ६१ अर्ब रुपियाँको फलामे डन्डी आयात भएको छ । एक खर्ब ४४ अर्ब रुपियाँको मेसिनरी सामान आयात भएको छ । विद्युतीय उपकरण एक खर्ब ५१ अर्ब, प्रशोधित र कच्चा तेल एक खर्ब २० अर्ब रुपियाँको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै ७४ अर्ब २८ करोड ३७ लाख सात हजार रुपियाँको खाद्यान्न (चामल, मकै, गहुँ, धान) आयात भएको छ ।  

नेपालबाट ९३ अर्ब ७४ करोड रुपियाँ बराबरको वनस्पति तेल निर्यात भएको छ । चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको अलैँची, छ अर्ब ४१ करोड ४५ लाख छ हजार रुपियाँको अदुवा निर्यात भएको छ । तीन अर्ब रुपियाँको आइरन तथा स्टिल  निर्यात भएको छ । कुल निर्यातमा पाम आयल र सोयाबिन, सनफ्लावर तेलको हिस्सा ५० प्रतिशत रहेको छ । वस्तु तथा सेवा आयात गरेर चार खर्ब ८२ अर्ब ४३ करोड ७७ लाख ३४ हजार रुपियाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

१४१ मुलुक घाटामा, ३० नाफामा

नेपालले एक वर्षको अवधिमा विभिन्न १७१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । 

जसमा १४१ देशसँग व्यापार घाटा रहेकामा ३० मुलुकसँग व्यापार नाफामा रहेको छ । अफगानिस्तान, अल्जेरिया, बर्मुन्डा, यमन, मोरक्कोलगायतका मुलुकसँग नेपालको व्यापार नाफा छ । नेपालमा विभिन्न देशबाट सामान आयात भए पनि निर्यात कम हुँदा धेरै मुलुकसँग व्यापार घाटा रहेको छ ।