• २८ चैत २०८२, शनिबार

सार्वजनिक सडकका अवैध संरचना हटाउन अभियान सुरु

blog

गौर नगरपालिका कार्यालय, रौतहट। तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, चैत २८ गते ।
रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सडक खण्डमा रहेका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ।

नगरपालिकाले सबै वडामा सार्वजनिक सडक खण्डको दायाँ–बायाँ सडक अधिकार क्षेत्रभित्र परेका अवैध घर, टहरा, गुम्ती तथा पशुधन, खाद्यान्न र निर्माण सामग्री हटाउन सूचना जारी गरेको छ।

सडक क्षेत्रभित्र कतिपय स्थानमा संरचना नै निर्माण गरिएको तथा धेरै स्थानमा लामो समयदेखि निर्माण सामग्री थुपारिएको पाइएपछि सूचना जारी गरी सबैलाई ती सामग्री हटाउन अनुरोध गरिएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।

सडक खण्डमा अवैध संरचना तथा निर्माण सामग्रीका कारण सार्वजनिक सवारी साधन र पैदल यात्रुलाई आवागमनमा अवरोध पुगेको जनगुनासो आएपछि नगर क्षेत्रभित्रका ती संरचना तथा सामग्री सम्बन्धित धनीले आफ्नै खर्चमा सात दिनभित्र हटाउन सूचना जारी गरिएको उहाँले बताउनुभयो।

सार्वजनिक सडक खाली गर्न सम्बन्धित सबैसँग नगरपालिकाले अनुरोध गरेको छ।

सूचनाको आधारमा तोकिएको समयसीमाभित्र सम्बन्धित धनीले आफैंले अवैध संरचना नहटाएमा नगरपालिकाले हटाउने उहाँले बताउनुभयो। त्यसरी हटाउँदा लागेको खर्च सरकारी बक्यौता सरह सम्बन्धित धनीबाट असुल गरिने पनि उहाँले जानकारी दिनुभयो।