• २९ वैशाख २०८१, शनिबार

नेफाम गर्ल : निर्वस्त्र र नराम्रोसँग जलेकी बालिका

blog

घातक नेफाम आक्रमणका कारण त्राहिमाम गर्दै भागिरहेका बालबालिकाको एउटा तस्बिर भियतनाम युद्धको मात्रै होइन २औँ शताब्दीमा युद्धको विभीषिका बयान गर्ने एक स्पष्ट विम्ब बन्न पुग्यो। कालो धुवाँ उनीहरूको ठीक पछाडि तरङ्गित भइरहेको छ,  अबोधहरूको मुहार भय, पीडा र हडबडीले आक्रान्त देखिन्छ। दक्षिण भियतनामी सेनाको २५औँ डिभिजनका केही सैनिक असहाय भएर उनीहरूलाई पछ्याउँदै छन्– ऐतिहासिक तस्बिरमा यो स्पष्ट देख्न सकिन्छ।

सन् १९७२ जुन ८ मा ट्रङ बाङ गाउँको बाहिरी क्षेत्रमा कैद गरिएको यस तस्बिरले लगभग १० लाख गैरसैनिकको ज्यान लिएको युद्धको विभीषिका र अविवेकपूर्ण अवस्था दर्शाउँछ। आधिकारिक रूपमै ‘टेरर अफ वार’ अर्थात् युद्धको आतङ्क नाम दिइएको भए पनि यो तस्बिर ती नौ वर्षे निर्वस्त्र र नराम्रोसँग जलेकी बालिका, जो कैद गरिएको दृश्यको केन्द्रमा छिन्, को उपनाम ‘नेफाम गर्ल’ बाट बढी परिचित छ।

त्यतिबेला नै पहिचानमा आएकी ती बालिका फान थी किम फुक अन्ततः बाँचिन्, चोट लागेको तथा जलेको उनको शरीर निको भएर आयो। उनको ज्यान जोगाउने श्रेय जान्छ एसोसिएटेड प्रेसका फोटोग्राफर निक अटलाई। उनले यो ऐतिहासिक तस्बिर खिचेलगत्तै तस्बिरमा देखिएका बालबालिकाको उद्दार गरेका थिए।

त्यस विनाशक दिनको ५० वर्षपछि समेत यो जोडी (बालिका र फोटोग्राफर) नियमित सम्पर्कमा रहेको छ र उनीहरूले आफ्नो कथा साझा गर्दै शान्तिको सन्देश दिने काम गरिरहेका छन्।

“म त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ,” हाल क्यानडाको टोरन्टोमा बसोबास गरिरहेकी किम फुकले भिडियो कलमा भनिन्।

उनको बाल्यकालको गाउँ ट्राङ बाङ सैगोन (हालको हो ची मिन्ह सहर)बाट दक्षिण पश्चिम करिब ४८ किलोमिटरको दूरीमा थियो। देशको उत्तरमा अधिपत्य जमाएका वामपन्थी सैनिकहरूले उनको गाउँमा कब्जा गरिराखेका थिए। न्युयोर्क टाइम्सका अनुसार दक्षिण भियतनामी सेनाले उनीहरूलाई त्यहाँबाट लखेट्न तीन दिन कडा सङ्घर्ष ग-यो र नजिकैको राजमार्ग खुला गर्नमा उनीहरू सफल भए।

त्यस दिन बिहान दक्षिणी सेनाको वायु दस्ताले प्रोपेलरद्वारा सञ्चालित स्काइराइडर विमान उडाएर शत्रुको ठेगानामा नेफाम खसालेको थियो। नेफाम यस्तो रसायन हो जसले शरीर नराम्रोसँग जलाउँछ र शत्रुको शरीरमा टाँसिन्छ।

किम फुक र उनको परिवार, अन्य आमनागरिक तथा दक्षिण भियतनामी सैनिकहरूसँगै एक बौद्ध स्तूपमा आश्रय लिएर बसिरहेका थिए। आकाशमा आफ्नै सैनिकहरूको विमानको आवाज सुनेर सैनिकहरूले आक्रमणको आशङ्का गरी सबैलाई त्यहाँबाट भाग्न भने। दुर्भाग्य नै मान्नुपर्छ सो समूहलाई शत्रुले गलत निशाना बनायो।

“मैले आकाशतिर टाउको उठाएँ र त्यहाँ विमान देखेँ। मैले त्यसैबेला चार बम खसिरहेको देखेको थिएँ,” किम फुकुले घटना सम्झिइन्।

उनले अगाडि भनिन्, “अचानक चारैतिर आगो लाग्यो र मेरो लुगा आगोले जल्न थाल्यो। त्यतिबेला मैले आफू नजिक कसैलाई पनि देखिन्, मात्र आगो देखेँ। मलाई अझै पनि राम्रोसँग सम्झना छ, मैले के सोचेकी थिएँ। मैले सोचे ‘हे दैव म जले, म कुरूप हुनेछु र मानिसले मसँग बेग्लै व्यवहार गर्ने छन् तर म धेरै नै डराएकी थिएँ।”

किम फुकुले आफ्नो जिउमा रहेको लुगाको बाँकी भाग च्यातेर फालिन् र रुट एक राजमार्गतिर दौडिइन्। त्यतिबेला २१ वर्षका भियतनामी फोटोग्राफर निक अट ती सबै फोटोग्राफरमध्ये थिए जो त्यस दिन थप लडाइँ हुनसक्ने सम्भावना देखेर गाउँ बाहिर तैनाथ थिए।

“मैले देखेँ किम फुक दौडिरहेकी छन् र उनी (भियतनामी भाषामा) चिच्याउँदै थिइन् ‘पोल्यो! पोल्यो!” भिडियो कलमार्पmत निकले लस एन्जल्सबाट भने।

उनले घटनाको थप जनकारी दिँदै भने, “मैले उनको तस्बिर खिच्दा देखेँ, उनको शरीर नराम्रोसँग जलेको थियो। मैले उनको तत्काल सहायता गर्न चाहेँ। मैले आफ्ना सबै क्यामरा र सामान राजमार्गमा बिसाएँ र उनको शरीरमा पानी खन्याएँ।”

त्यसपछि निक अटले घाइते बालबालिकालाई आफ्नो भ्यानमा राखे। ३० मिनेट गाडी हाँकेर उनले ती बालबालिकालाई नजिकै पर्ने अस्पतालमा पु-याए तर त्यहाँ पुग्दा अस्पतालका चिकित्सकले अस्पताल खचाखच रहेको र उनीहरूलाई सैगोन लैजान सुझाव दियो।

निक सम्झन्छन्, “मैले भनेँ यदि उपचारविहीन अवस्थामा उनी थप एक घण्टा रहिन् भने मर्ने छिन्।”

गाडी हाँक्दा सुरुमा त निकले किम फुक मरिनै सकेको अनुमान गरेका थिए। अन्त्यमा निकले एक जुक्ति लगाए। उनले आफ्नो प्रेस पास देखाएर बालबालिकाको उपचार गर्न चिकित्सकहरूलाई मनाए। उनले भोलि विश्वमा धेरैजसो पत्रिकामा यी बालबालिकाको तस्बिर प्रकाशित हुने भएकाले यीमध्ये कुनै एकको पनि ज्यान गएमा तपाईंहरूमाथि सङ्कट आउने भनी धम्क्याएका थिए।

अस्पतालबाट निक अट सोझै सैगोनमा रहेको एसोसिएटेड प्रेसको कार्यालयमा गए र त्यहाँ उनले रिलबाट तस्बिर तयार पारे। उनले खिचेका तस्बिरले त्यस दिनको घटना राम्रैसँग बयान गरे ः स्काइराइडर विमानको मुनि मध्य आकाशमा देखिएको एक बम, ट्राङ बाममा उठिरहेको कालो धुवाँ, अस्थायी स्ट्रेचरमा घाइतेहरूलाई बोकिँदै गरेको दृश्य। एक तस्बिरमा देखिन्थ्यो– टेलिभिजनकर्मी र दक्षिण भियतनामी सैनिकहरू किम फुकु वरिपरि उभिएका छ र उनको छाला कालो परेको छ, प्रज्वलनशील जेलीले डढेका पाखुरा।

तर फोटोग्राफलाई तत्काल भान भयो एउटा तस्बिर अन्य भन्दा भिन्न अर्थ राख्ने खालको छ।

“जब कार्यालय फिर्ता गए, डार्क रुमका प्राविधिक र सबैले त्यो तस्बिर हेरेपछि मलाई तुरुन्तै भने, यो बेजोड तस्बिर छ र यसले पुलित्जर पुरस्कार जित्न सक्छ,” निकले सुनाए।

उनीहरू सही थिए : निकले सन् १९७३ मा स्पट न्युज फोटोग्राफी विधामा पुलित्जर पुरस्कार पाए। उनले खिचेको तस्बिर २० भन्दा बढी प्रमुख अमेरिकी दैनिक पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित भयो र सो तस्बिरलाई वल्र्ड प्रेस फोटो अफ दि इयरसमेत घोषणा गरियो।

सन् १९७५ सम्म युद्ध जारी रहे पनि ‘नेफाम गर्ल’ ले गर्दा नै भियतनाम युद्ध चाँडै समाप्त भएको असत्य दाबी समर्थन गर्ने कुनै प्रमाण छैन, न त यसले अमेरिकी आम विचारधारामा कुनै प्रभाव नै पा¥यो किनभने अमेरिका समर्थित दक्षिणी भियतनाममा समेत अन्ततः वामपन्थीको नियन्त्रण भयो र अमेरिकी जनता त सन् १९६० को दशकको अन्त्यतिर नै भियतनाम युद्धमा अमेरिकाको संलग्नताको विरुद्धमा उभिइसकेका थिए।

जुन समयमा निकले ‘नेफाम गर्ल’ को तस्बिर खिचे दुई दशकसम्म दक्षिण भियतनाममा सक्रिय उपस्थिति जनाएका अमेरिकी सैनिक लगभग सम्पूर्णतया फिर्ता भइसकेका थिए। तापनि निकको तस्बिर युद्ध विरोधी विचार व्याप्त बनाउने प्रतीक बन्यो।


यस तस्बिरमा नेफाम भयावहको चित्रण यस्तो मार्मिक थियो कि अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले गोप्य रूपमा तस्बिर सुनियोजित त थिएन, भनी सोधपुछ समेत गरे। दशकौँपछि सार्वजनिक गरिएको ह्वाइट हाउसको रेकर्डबाट स्पष्ट थाहा हुन्छ राष्ट्रपति निक्सनलाई तस्बिर सुनियोजित भएको आशङ्का थियो। निकले यस्तो भनाइबाट आफू निकै दिक्दार भएको प्रतिक्रिया दिएका थिए।

यसबीच किम फुकले आफूलाई लागेको चोटको उपचार गर्न १४ महिना अस्पतालमा बिताइन्। उनका दुई भाइबहिनीको बम वर्षामा परेर मृत्यु भयो तर उनले हिम्मत हारिनन् र आक्रमणबाट बच्न तथा संसारले हेरेको तस्बिरको मार्मिकताबाट उम्केर जीवन अगाडि बढाउने प्रयत्न गरिन्।

“एक बालिकाका रूपमा म धेरै नै लज्जित थिएँ, साँच्चै भन्दै छु। मलाई त्यो तस्बिर कतै मन परेन। उनले मेरो तस्बिर किन खिचे ? मलाई कहिल्यै त्यो हेर्ने मन भएन,” फुकले प्रतिक्रिया दिएकी छन्।

उनले एक चिकित्सक बन्ने सपना देखेकी थिइन् तर भियतनामको वामपन्थी सरकारले प्रचारबाजी अभियानमा उपयोग गर्नका लागि उनलाई चिकित्सा स्कुलबाट तुरुन्त हटायो। उनले विदेशबाट आउने पत्रकारहरूलाई आफ्नो कथा सुनाउन बोलाउँथिन् तर उनीप्रति खासै ध्यान दिइएन। 

“यसले वास्तवमा मेरो निजी जीवनमा प्रभाव पा-यो।” आफूले कहिलेकाहीँ गायब हुन चाहेको जानकारी दिँदै उनले भनिन्। उनले अगाडि दुःखेसो पोखिन्, “मैले स्कुल जान पाइनँ। मैले आफ्ना सपना साकार गर्न सकिनँ र यसैले म यसलाई घृणा गर्दथेँ।”

सन् १९९२ मा क्यानडाले किम फुकलाई राजनीतिक शरण दिएपछि मात्रै उनमा आफ्नो निजी जीवनमा आइपरेको त्रासदिलाई सर्वहितका लागि उपयोग गर्ने प्रेरणा जाग्यो। उनले आफ्नो अनुभवका बारेमा एउटा पुस्तक लेखिन् तथा युद्धमा जेलिएका बालबालिकाको हितप्रति केन्द्रित रहने गरी किम फाउन्डेसन इन्टरनेसनल स्थापना गरिन्। सन् १९९७ मा उनलाई संयुक्त राष्ट्रसङ्घले सद्भावना राजदूत घोषणा ग-यो। उनले संसारका विभिन्न स्थानमा गएर आफ्नो जीवनकथा र क्षमादानको शक्तिका बारेमा वाचन गर्दछिन्।

गत मेमा किम फुक र निक, जसलाई उनी मायाले ‘अङ्कल’ भन्छिन्, ले सेन्ट पिटर्स स्क्वायरमा पोप फ्रान्सिसलाई सो तस्बिरको एकप्रति हस्तान्तरण गरेका थिए।

“मलाई महसुस भयो, ओहो यो तस्बिर त मलाई तेजस्वी उपहार भएको छ। मैले शान्तिका लागि यो प्रयोग गर्न सक्छु किनभने यस तस्बिरले मलाई भाग्न दिँदैन। अहिले विगत हेर्न सक्छु र त्यसमा भुलिन्छु त्यस ऐतिहासिक क्षण र युद्धको विभीषिकालाई तस्बिरका रूपमा कैद गरेकोमा म निकप्रति धेरै आभारी छु,” फुकले गहिरो सास लिएर भनिन्।

कैयौँ वर्षसम्म विभिन्न शल्यक्रिया र थेरापी गर्दा पनि फुकले त्यसदिनको आगोले पारेको असरको दुष्प्रभाव अझै पनि बेहोरिरहेकी छन्। हालै मात्र अमेरिकामा उनले लेजर उपचार गराइन्। त्यतिबेला जलेको शरीरमा अझै पनि उनलाई पीडा हुने गरेको छ। हाल दुई बच्चाकी आमा फुक भन्छिन्, “अहिले ५० वर्षपछि म धेरै कृतज्ञ छु र अब म युद्धको सिकार होइन। म त बाँचेकी मानिस हँु र मसँग शान्तिका लागि काम गर्ने अवसर छ।”

हाल अवकाश जीवन जिउँदै गरेका निक अझै पनि द्वन्द्व फोटोग्राफीको शक्तिमा अगाध विश्वास राख्छन्। युक्रेनमा भइरहेको युद्धको सन्दर्भ जोड्दै उनले द्वन्द्व फोटोग्राफीको विषय “अझै पनि उत्तिकै महìवपूर्ण रहेको जति भियतनाम युद्धका बेला थियो,” भनेका छन्। आजका पाठकमा अनेक स्रोतबाट आउने तस्बिरको बोझ भए पनि समग्रमा ती सबैको प्रभाव पुस्तौँ पहिले समाचारपत्रहरूको प्रतिष्ठित एकल तस्बिरको सरह हुने कुरा उनी बताउँछन्। 

उनले अगाडि भने, “जतिबेला मैले भियतनाममा तस्बिर खिच्दथेँ, धेरै कुरा सुस्त थियो। हामीसँग सोसियल मिडिया थिए। अहिले त तपाईंका अगाडि कैयौँ तस्बिर छन् तर सत्य सत्यापन गर्न र त्यसलाई संसारका अगाडि ल्याउन ती तात्कालिक छन्, जसले तिनलाई अविश्वसनीय रूपमा शक्तिशाली पनि बनाउँछ।” 


– सीएनएनबाट उमेश ओझाद्वारा अनुवादित र सम्पादित