• ३० वैशाख २०८१, आइतबार

कुश गोत्रका किसान

blog

बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विशेषताले सम्पन्न देश नेपालमा द्रविडियन परिवारका सदस्यमध्ये पर्छन् किसान । किसान जातिको बसोबास झापा जिल्लामा रहेको छ । वि.सं. २०६८ को जनगणनाअनुसार मुलुकमा १२५ जातजाति र १२३ भाषाभाषी रहेका छन् । २०७८ को गणनाको अन्तिम प्रतिवेदन आइनसके पनि यस पटक यस्तो जातीय सङ्ख्या थप हुन सक्छ । 

किसान जातिको मूलथलो भारतको उडिसा र बिहारतिर पर्छ । अङ्ग्रेजहरूले पश्चिम बङ्गालमा चियाको खेती गर्न थालेपछि श्रमिकका रूपमा राँचीबाट ल्याइएका परिवार नेपाल प्रवेश गरेपछि किसान भएका हुन् पनि भनिन्छ तर यिनीहरू आफूलाई कुशबाट उत्पत्ति भएको र आफ्नो गोत्र पनि कुश नै भएको बताउँछन् ।

भारतको उराँव जातिसँग यिनीहरूको रहनसहन मिल्दोजुल्दो छ । यिनीहरूको भाषा द्रविडियन र लिपिलाई उराँव भनिने भएकाले पनि यिनीहरूको ऐतिहासिकता भारतका उराँवसँग जोडिन पुग्छ । 

आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले किसानलाई नेपालको आदिवासी/जनजातिमा सूचीकृत गरेको छ । साथै यिनीहरूलाई तराईका आदिवासी÷जनजाति भनिएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार मात्र १७ सय ३९ जनसङ्ख्या रहेका किसान जातिका एक जना नेपालको हिमाली क्षेत्रमा, पहाडमा ६७४ र तराईमा एक हजार ६४ जनाले बसोबास गर्छन् । वि.सं. २०५८ को जनगणनाअनुसार दुई हजार आठ सय ७६ रहेको यिनीहरूको जनसङ्ख्या २०६८ मा यसरी घट्नुलाई विश्वसनीय मान्न सकिँदैन । 

नेपालमा यो जातिलाई कुन्ताम पनि भनिन्छ । कुडा, कोरा मिर्धा, कोला मोर्भा, बिरहोर, नागेसिया भनेर पनि यो जातिलाई चिनिन्छ तर यी शब्दलाई जाति वा उपजातिलाई नभएर किसानले प्रयोग गर्ने थरका रूपमा बुझ्ने गरिएको छ । यिनीहरू मूलतः तेलिया र सेन्द्रिया दुई थरीमा विभक्त छन् । 

विगतमा तेलियाभन्दा सेन्द्रिया ठूला जाति मानिन्थे तर अहिले समानता छ, बिहेबारी चल्छ । तेलियाले विवाह वा कुनै पनि पर्व/अवस्थामा सिन्दूर नलाउने र सोन्द्रियाले लगाउने भिन्नता थियो । यो पनि अहिले हटेको छ । यिनीहरूले महाप्रभोलाई कुल देवता भन्दछन् तर हिन्दु परम्पराअनुसार नै महादेव, विष्णु, देवी, दुर्गाको पूजा गर्छन् ।

यिनीहरूमा फुपूको छोरा र मामाको छोरीमा विवाह हुने चलन छ । विगतमा विधवा भाउजू बुहारीले मृतकका भाइ वा दाजुसँग विवाह गर्ने चलन रहेको भए पनि अहिले यस्तो प्रचलन हट्दै गएको छ । 

यिनीहरूको आफ्नै सांस्कृतिक–राजनीतिक सङ्गठन हुन्छ । जसको मुख्य व्यक्ति ‘राजा’ (बैगा) हुन् । राजा र उनको सहयोगीले जातीय सङ्गठनभित्र हुने झै–झगडा, विवाह (जारी, पोइला), जुठो सुतकका नियम लागू गर्छन् । राजाले मन्त्री र सिपाही नियुक्ति गर्ने गर्छन् । ढोडी किसानपछिका भाविर किसान पछिल्ला राजा हुन् । 

पचन, बाहुन र झाँक्री किसान पछिल्ला सिपाही हुन् भनेर केशवप्रसाद अधिकारीले प्राचीन नेपालमा लेखेका छन् तर पछिल्ला दशकमा यस्ता प्रचलनमा ह्रास आउँदै गएको छ । दण्डमा बोका र नगद तिराइन्छ । किसान भएकाले हुन सक्छ पशुलाई यिनीहरू खुब माया गर्छन् । कसैको पनि गोठमा अल्झिएर वा मानवीय त्रुटिले गाईबस्तु मरेमा त्यस्ताको घरको पानी हटक गरिन्छ । यस्ता व्यक्तिलाई गौमार भनिन्छ ।

नियमअनुसार राजालाई निवेदन दिएर अवस्था हेरी १२ वटासम्म बोका दण्ड तिरेमा गौमारको सजाय र पानी फुकुवा हुन सकिन्छ । यसरी निवेदन दिँदा राजालाई सेतो गम्छा÷धोती र नगद दिनुपर्छ । दण्ड तिराइएको बोका काटेर मासुभातको सहभोज गरी दण्ड पाउनेलाई समाजमा भिœयाइन्छ, पानी चलाइन्छ । 

यिनीहरूले आफूलाई हिन्दु नै भन्दछन् । दशैँ, तिहार फगुवा (फागुपूर्णिमा) हरिशयनी एकादशी यिनका प्रमुख चाड हुन् । किसानले देउठइनमा तुलसीको पूजा गर्छन् र राँगाभैँसीको मासु खाँदैनन् । जन्म तथा मृत्यु संस्कार करिब करिब बाहुन, क्षेत्रीकै समान छ । 

मृतकलाई जलाउने वा गाड्ने दुवै गरिन्छ । मूलतः कृषि पेसामा आबद्ध यिनीहरूका पछिल्ला युवापुस्ता वैदेशिक रोजगारीमा पनि जान थालेका छन् । बिस्तारै राजनीतिक तथा सामाजिक अन्तरक्रियामा सहभागी हुँदै प्रशासनिक क्षेत्रमा पनि यिनीहरूको संलग्नता बढ्दै आएको छ ।  

नेपालको कानुनले कुनै पनि जातलाई ‘अल्पङ्ख्यक’ भनेको छैन तर संविधानले ‘सङ्घीय कानुनबमोजिम निर्धारित प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातीय, भाषिक र धार्मिक समूह सम्झनुपर्छ र सो शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाई राख्ने आकाङ्क्षा रहेका, विभेद र उत्पीडन भोगेका समूह समेतलाई जनाउँछ’ भनेकाले किसानलाई अल्पसङ्ख्यक जाति भन्न सकिन्छ । 

साथै संविधानअनुसार किसान ‘सीमान्तीकृत’ जाति पनि हो । सबै आदिवासी/जनजातिको आर्थिक, सामाजिक हैसियत समान नरहेको भन्दै आदिवासी÷जनजातिभित्र प्राथमिकता निर्धारण गरिएको छ । जसअनुसार  किसान  लोपोन्मुख समूहमा पर्छ । 


–त्रिभुवनचन्द्र वाग्ले