• १९ असार २०८१, बुधबार

राष्ट्रिय प्राङ्गारिक भेला हुने

blog

काठमाडौँ, साउन ९ गते ।  प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय प्राङ्गारिक भेला आयोजना हुने भएको छ । त्यसको तयारीका लागि १९ सदस्यीय राष्ट्रिय प्राङ्गारिक भेला तयारी समिति गठन गरिएको छ । 

अर्गानिक सर्टिफिकेसन नेपालले एक कार्यक्रमको आयोजना गरी सो समिति गठन गरेको सर्टिफिकेसन नेपालका अध्यक्ष वसन्त रानाभाटले जानकारी दिनुभयो ।  प्राङ्गारिक कृषिमा संलग्न सम्पूर्ण सरोकारवालाको राष्ट्रिय सञ्जालको आवश्यकता महसुस गर्दै यो भेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय प्राङ्गारिक भेला दुई महिनाभित्र गर्ने योजना छ । यसको तयारी समितिले गर्नेछ ।” 

यो भेलाबाट छलफल गरी प्राङ्गारिक विषयमा थप अध्ययन गर्नका लागि एउटा केन्द्रीय अध्ययन समिति र अर्को प्रदेशस्तरीय अध्ययन समिति गठन हुने उहाँले बताउनुभयो । ती समिति गठन गरिसकेपछि प्राङ्गारिक खेतीको अवस्था, समस्या, उत्पादन, बजारीकरण र नीतिगत रूपमा के के समस्या छन्, त्यसको अध्ययन गरिने बताइएको छ । 

हालको अवस्थामा अवस्थामा के कति अर्गानिक वस्तु के कति उत्पादन हुन्छ, त्यसको कुनै तथ्याङ्क छैन । 

पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि अर्गानिक खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम तथा बजेट पनि छुट्याएका छन् तर बजेट कहाँ कसरी खर्च भइरहेको छ, त्यसको कुनै लेखाजोखा छैन । 

अर्गानिक क्षेत्रमा हुने गरेको दुरुपयोगलाई अनुगमन गरी त्यसलाई रोक्नुपर्ने आजको आवश्यकता हो र त्यसैका लागि सञ्जालको आवश्यकता रहेको उहाँले बताउनुभयो । पछिल्लो समय अर्गानिक वस्तु भन्दै रासायनिक तथा विषादी प्रयोग गरी उत्पादन गरेको वस्तु बजारमा बेच्ने गरिएको छ । 

अर्गानिकको नाममा उपभोक्ता ठगिने गरेको उल्लेख गर्दै अध्यक्ष रानाभाटले त्यसलाई पनि रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

अर्गानिक खेतीमा लागेका विभिन्न सङ्घसंस्था, व्यक्ति, व्यवसायी सबै आआफ्नो काममा व्यस्त छन् । यसका बारेमा कसैलाई सोच्नेसम्म फुर्सद नरहेको बताउँदै अध्यक्ष रानाभाटले प्राङ्गारिक खेतीमा थुप्रै समस्या रहेको छ तर ती कुरा नउठ्ने गरेको बताउनुभयो । 

प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने खालको नीति निर्माण गर्नका लागि सरकारलाई दबाब पनि दिइने बताउँदै उहाँले दबाब दिनका लागि सरोकारवाला सबै एक ठाउँमा आउनुपर्ने र त्यसका लागि यो भेला आयोजना गरिएको बताउनुभयो । हाल करिब दुई लाख किसानले दुई लाख हेक्टर क्षेत्रभन्दा बढीमा अर्गानिक खेती गरिरहेका छन् ।