जनार्जन खत्री
सर्लाही, चैत १० गते । सर्लाहीको हरिवन नगरपालिका–४, मा रहेको हरिवन नगर अस्पताल सासापुरमा इर्मेजेन्सी र बेड भर्ना सेवा सुरु भएको छ ।
हरिवन नगरपालिकाले आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी सोमबारबाट इर्मेजेन्सी सेवा शुभारम्भ गराएको हो । नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फूँयाल, वडाध्यक्षहरु र चिकित्सक भएर इर्मेजेन्सी सेवाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
अस्पतालमा अहिले एक जना विशेषज्ञ चिकित्सकसहित तीन जना मेडिकल अधिकृत, पाँच जना पारा मेडिक्स, सात जना नर्सिङ स्टाफ, दुई जना ल्याब टेक्निसियन, एक जना रेडियोग्राफी टेक्निसियन, छ जना कार्यालय सहयोगी र चार जना स्वीपर कार्यरत छन् । आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र कर्मचारी नियुक्त गर्ने तयारीसहित इर्मेजेन्सी सेवाको सुरुवात गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो ।
स्वास्थ्य संयोजक चौधरीका अनुसार बिरामीको चाप र स्थानीयस्तरको आवश्यकतालाई मध्यनजर गर्दै इर्मेजेन्सी सेवा सुरु गरिएको हो । अस्पतालमा यसअघि ओपिडी सेवा भने सञ्चालनमै रहेको थियो ।
अस्पतालमा एम्बुलेन्स सेवासमेत सञ्चालनमा रहेको छ । नगर प्रमुख बुढाथोकीले नगरवासीलाई सुलभ दरमा आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित इर्मेजेन्सी र बेड भर्ना सेवा सुरु गरिएको बताउनुभयो । हरिवन नगरपालिकाले स्थापनादेखि नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ ।