• १३ साउन २०८१, आइतबार

साताको एक दिन प्रमुखले साइकल चढ्ने

blog

धर्बेन्द्र झा

धनुषा, साउन ७ गते  ।  जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह सवारी इन्धनको बचत गर्न र पर्यावरणको संरक्षणका लागि साइकल चढेर कार्यालय आउनु भएको छ । साताको एक दिन शुक्रबार साइकल चढ्ने निर्णय गरे बमोजिम उहाँ शुक्रबार साइकल चढेर कार्यालय आउनु भएको हो । 

सवारी इन्धनको मूल्य नियमित रूपमा वृद्धि हुँदै गरेको र लगातार सवारीसाधन चल्दा पर्यावरण दुषित हुने गरेको भन्दै नगरभित्रका हरेक वर्गले कम्तीमा एक दिन यातायात साधनका रूपमा साइकल चढ्नुपर्ने भन्दै त्यसको कार्यान्वयनका लागि उहाँले शुक्रबारबाट साइकल चढ्न सुरु गर्नुभएको छ । प्रमुख साहको नेतृत्वमा शुक्रबार जनकपुरधाम नगर क्षेत्रमा साइकल यात्रा गरिएको थियो । साइकल यात्रामा जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहसहित जनकपुरधाम उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो । साइकल यात्राको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख साहले पर्यावरणको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै आफूबाटै यस अभियानको सुरुवात गरेको जानकारी दिनुभयो । 

उहाँले जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले पनि साताको एक दिन शुक्रबार साइकलको यात्रा गर्ने र पछि नगरवासीले पनि यस विषयलाई आत्मसाथ गरी पर्यावरणको संरक्षणमा सहयोग गर्ने बताउनुभयो । उहाँले जनकपुरधाम उपमहानगरपालिकाले नगरको सरसफाइ, छाडा गाईवस्तुको नियन्त्रण र पर्यावरण संरक्षणको कामलाई प्राथमिकतामा राखेर अभियान नै सञ्चालन गर्ने बताउनुभयो ।