• १३ साउन २०८१, आइतबार

बलान नदी कटान रोक्न पूर्वतयारी

blog

लहान समाचारदाता

लहान, साउन ७ गते  । सिरहा सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पश्चिमी किनाराको कटान रोक्न पूर्वी किनाराबाट पानी बग्ने गरी लहान नगरपालिकाको जेसीबीले माटो खन्ने कार्य तीव्र रूपमा अघि बढाएको छ । पश्चिमी किनारा लहान–२३, तिलोबोना कडरियातर्फको कटानले पश्चिमतर्फबाट बलान बग्न थाले ठूलो क्षति हुनबाट रोक्न स्थानीयले लहान नगरपालिकालाई गुहारेका थिए । 

वर्षा रोकिएको अवस्थामा बलान नदीको पूर्वी भागबाट पानी बग्ने गरी जेसीबी लगाएर माटो खनेर सिमेन्टको बोरामा माटो राखी नदीको बहाव बीचबाट बग्ने गरी फर्काउन सके पश्चिमतर्फको ठूलो क्षति रोक्न तत्काल अस्थायी संरचना बनाउन लागेको लहान नगरपालिकाले जनाएको छ । 

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले स्थानीयले नदी कटान रोक्न गरेको मागलाई ध्यानमा राखेर तत्काल १५ लाख निकासा गरेर कटान रोक्ने प्रयासमा लागेको बताउनुभयो । “लहान नगरपालिकाको सबै बजेट लगाए पनि कटानको स्थायी समाधान गर्न नसक्ने भएकोले तत्काल अस्थायी संरचना बनाएर यस वर्ष क्षति रोकेर सुख्खा समयमा सङ्घ र प्रदेश सरकारबाट सहयोग मागेर दीर्घकालीन रूपमा समस्या समाधान गर्नेछौँ,” उहाँले भन्नुभयो । 

स्थानीय रमेश परसैला यादवका अनुसार लहान नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका र भगवानपुर गाउँपालिकाले संयुक्त रूपमा पहल गरेर पश्चिमी किनारको कटान नियन्त्रण नगरे तिलेबोना, करैया, सिमराहा, पोर्ताहा, कल्याणपुर र सखुवालगायतका बस्ती नै विस्थापित हुने अवस्था आउने छ । अहिलेसम्म यस नदीले एक हजारभन्दा बढी उर्वर जमिन काटेर सयाँै किसानलाई सुकुम्बासी बनाएको छ । 

लहान नगरपालिकाले तत्काल कटान रोक्न सक्रिय पहल थाल्ने सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवले विश्वास दिलाउनुभयो । अहिलेसम्म बलान नदी कटान नियन्त्रणको लागि आएको बजेट केही राजनीतिक दलका नेताको कमाइ खाने भाँडो भएको गुनासो गर्दै पश्चिमी किनारको पक्की तटबन्ध निर्माणको लागि ठोस कार्य गर्न स्थानीयले माग गरेका छन् ।