• १६ चैत २०८०, शुक्रबार

४० औँ बीपी स्मृतिदिवस : भिडियो कुराकानी

कुलबहादुर गुरुङको सम्झनामा बीपी

blog

काठमाडौं, साउन ६ गते । शुक्रबार प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४० औँ स्मृतिदिवस मनाइँदै छ । वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

वि.सं. २०१५ मा भएको संसदीय निर्वाचनपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालासँग सहकार्य गर्नुभएका कुलबहादुर गुरुङ (केबी) उहाँलाई फरक ढङ्गले सम्झनुहुन्छ ।  ‘‘आज पनि बीपी कोइराला हामीसँगै छन् जस्तो लाग्छ । बीपी मरेकै छैनन्, जिउँदै छन् जस्तो लाग्छ,’’ बीपीलाई सम्झँदै गुरुङ भन्नुहुन्छ ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई सत्ताबाट हटाएर तत्कालीन राजा महेन्द्र शाहले २०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको घोषणा गर्नुभएको थियो ।

२००७ सालमा बीपी गृहमन्त्री हुँदादेखि नै उहाँसँग सङ्गत गरेको सम्झना ८९ वर्षीय गुरुङसँग छ ।


पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षमा बीपीसँग गुरुङले लामो सहकार्य गर्नुभयो ।  गुरुङ बीपीसँग सङ्गत गरेपछि अरू नेतासँग सङ्गत नै गर्न मन नलागेको बताउनुहुन्छ । उहाँले बीपीलाई दूध र भातको संज्ञा दिनुहुँदा अरू नेतालाई गुन्द्रुक र भात मात्र मान्नुहुन्छ । 

बीपीको सम्झना गर्दै उहाँ भन्नुहुन्छ, ‘‘एउटा कुरा के हुँदोरहेछ भने दूध र भात खाएपछि गुन्द्रुक र भात मीठो हुँदैन नि ! बीपीसँग कुराकानी गरेपछि, जुन ढङ्गले बीपीलाई सोच्थेँ, त्यो ढङ्गको कुरा अरू नेतामा पाइँदैन । घमण्ड गरे जस्तो हुन्छ अरू नेतामा त्यो खालको स्वभाव पाइनँ । यिनीहरुबाट ज्ञानगुन हुँदैन भनेर कसैसँग सम्पर्क राखिनँ ।’’

वि.सं. २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका बीपी कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएको थियो । मेलमिलाप नीति लिएर बीपी नेपाल आउनु अगाडि आफूलाई नेपाल पठाएको सम्झना उहाँसँग ताजै छ ।

‘‘सुरुमा मेलमिलापको नीतिमा हामी सहमत थिएनौँ । बीपीले मेलमिलापको नीति लिएर जानुपर्छ भन्नुभयो । हामी मानेनौँ । बीपी नेपाल आउने हुनुभयो । आफू नेपाल आउनु अगाडि कोही नेपाल जाओस् भन्ने बीपीको चाहना थियो । त्यसपछि मैले आफैं म जान्छु भनेँ,’’ बीपीको मेलमिलाप नीतिमा सुरुमा असहमत भए पनि आफू अगुवा बनेर नेपाल आएको सम्झना गर्दै उहाँले भन्नुभयो । 

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा कोइरालाको स्मृति दिवसका अवसरमा प्रजातन्त्रका सेनानी, पूर्वमन्त्री एवं कांग्रेसका पाका नेता कुलबहादुर गुरुङसँग गोरखापत्र अनलाइनका लागि गरिएको भिडियो कुराकानी :

भिडियो : मनोजरत्न शाही, केशव गुरुङ