अस्मिता पोखरेल
धादिङबेँसी, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा मतगणना जारी रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणाम अनुसार क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अग्रस्थानमा देखिएका छन् ।
क्षेत्र नं. १ मा रास्वपाको अग्रता
धादिङ निर्वाचन क्षेत्र नं. १ को मतगणना गल्छी गाउँपालिका–६, महेशदोभानस्थित अमलेश्वर महादेव मन्दिरको सामुदायिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको छ । निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार गल्छी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले थाक्रे गाउँपालिकाको मतगणना सुरु गरिएको छ ।
हालसम्मको मतपरिणाम अनुसार रास्वपाकी उम्मेदवार आशिका तामाङ ८ हजार १०८ मतसहित अग्रस्थानमा हुनुहुन्छ। नेकपा (एमाले)का उम्मेदवार भूमि त्रिपाठीले ३ हजार ७८१ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले २ हजार ३१८ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले २ हजार ३४९ मत पाउनुभएको छ ।
निर्वाचन अधिकृत अधिकारीका अनुसार मतगणना प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । छ स्थानीय तह समेटिएको धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८५ हजार ३ सय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रप्रसाद पाण्डेले ३५ हजार ९३४ मतसहित विजय हासिल गर्नुभएको थियो । पाण्डे अहिले नेकपाका उम्मेदवार हुनुहुन्छ ।
त्यही निर्वाचनमा भूमिप्रसाद त्रिपाठीले २७ हजार ९५३ मत ल्याउनुभएको थियो, जसमा पाण्डेको जित ७ हजार ९८१ मतान्तरले भएको थियो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४७५ मत प्राप्त गर्नुभएको थियो ।
गत स्थानीय निर्वाचनमा धुनीबेँसीमा तत्कालीन नेकपा एस, थाँक्रे र गल्छीमा एमाले, गजुरी र बेनीघाट–रोराङमा तत्कालीन माओवादी केन्द्र र सिद्धलेकमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
क्षेत्र नं. २ मा नेकपाको अग्रता
धादिङ निर्वाचन क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ। यस क्षेत्रमा रुबीभ्याली गाउँपालिकाबाट मतगणना सुरु गरिएको हो। अहिले खनियावास गाउँपालिकाको मतगणना भइरहेको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामबहादुर भण्डारी १ हजार ८४६ मतसहित अग्रस्थानमा हुनुहुन्छ। नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले १ हजार ६७२ मत प्राप्त गर्नुभएको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेश रिजालले ९७०, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधनारायण श्रेष्ठले ८३१ र नेकपा (एमाले)का धनबहादुर घलेले ६९६ मत प्राप्त गर्नुभएको छ। अहिले खनियावास गाउँपालिकाको मतगणना सुरु भएको छ ।
यस क्षेत्रमा कुल २४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहन्छ । १३ वटा स्थानीय तह रहेको जिल्लाको क्षेत्र नं. २ मा सदरमुकामसहित एउटा नगरपालिका र ६ वटा गाउँपालिका पर्छन् ।
कुल १ लाख ३८ हजार ५९४ मतदाता रहेकामा धादिङ क्षेत्र नं २ मा ७३ हजार ५१ मत खसेको छ ।
२०७९ को आम निर्वाचन परिणामलाई हेर्दा यो क्षेत्रमा कांग्रेस र माओवादीको संयुक्त गठबन्धन बलियो देखिएको थियो । त्यतिबेला कांग्रेसका रामनाथ अधिकारीले ३४ हजार ७ सय ३६ मत ल्याएर विजयी हुँदा एमालेका खेमप्रसाद लोहनीले २४ हजार १ सय ९० मत पाएका थिए । तर २०७४ को निर्वाचनमा भने एमाले र माओवादीको वाम गठबन्धनबाट लोहनीले नै बाजी मारेका थिए ।
२०७४ मा एमाले–माओवादी वाम गठबन्धनबाट लोहनी ३६ हजार २ सय ५६ मतसहित विजयी हुँदा कांग्रेसका दिलमान पाख्रिन ३५ हजार ६ सय १६ मतमा सीमित भएका थिए । दुवै निर्वाचनमा झिनो मतान्तर देखिनुले धादिङ–२ लाई ‘स्विङ’ क्षेत्रका रूपमा चिनाउँछ।
स्थानीय तह निर्वाचन २०७९ मा पनि सातमध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी भएको थियो भने रुबीभ्याली गाउँपालिकामा माओवादी उम्मेदवार निर्वाचित भएका थिए ।
गत निर्वाचनको समानुपातिक मत परिणाम अनुसार कांग्रेस २० हजार ९ सय ५७ मतसहित अग्रस्थानमा, एमाले १६ हजार २ सय ७५ र माओवादी ११ हजार ४ सय ९४ मतसहित पछ्याइरहेको थियो । रास्वपाले ५ हजार ६ सय २८ मत प्राप्त गरेको थियो।
जिल्लामा ५७.५३ प्रतिशत मतदान
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ जिल्लामा कुल ५७.५३ प्रतिशत मतदान भएको छ।
२ लाख ७५ हजार २८० मतदाता रहेको जिल्लामा १ लाख ५८ हजार ३८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमध्ये ८१ हजार ७०३ पुरुष, ७६ हजार ६८० महिला र १ जना अन्य मतदाताले मतदान गरेका छन्।