• १६ चैत २०८२, सोमबार

आरोग्य पर्यटन प्रवर्धन गर्न संयन्त्र बन्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १६ गते । सरकारले नेपाललाई अन्तर्राष्ट्रिय आरोग्य पर्यटन (वेलनेस टुरिजम) को हब बनाउने लक्ष्यका साथ आगामी १५ दिनभित्र विशेष रणनीति जारी गर्ने भएको छ । पूर्वीय दर्शन, ध्यान, योग र प्राकृतिक चिकित्सालाई समेटेर ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी अनुसार सरकारले नेपालको योग र प्राकृतिक चिकित्सा पर्यटनलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने योजना अघि सारेको हो । 

सरकारले शासकीय सुधारका लागि तयार गरेको कामको सूचीमा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा लिई नेपाल वेलनेस इयर २०२७ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने जनाएको छ । त्यस्तै पर्यटन प्रवर्धन, हवाईसेवाको सरलीकरण र पूर्वाधार विकासमार्फत नागरिक उड्डयन क्षेत्रलाई सहज, सुरक्षित र आधुनिक बनाउन पूर्वाधार विकासमा जोड दिने लक्ष्य राखिएको छ ।  

सरकारले एक सय दिनमा सम्पन्न गर्न सक्ने कार्ययोजनामा नयाँ पदमार्गको खोजी र विस्तारलाई प्राथमिकता दिइएको छ भने ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई मूल प्रवाहमा ल्याउन एक महिनाभित्र सम्भाव्यता अध्ययन गरी कार्यान्वयनयोग्य खाका प्रस्तुत गरिने जनाइएको छ । पर्यटन क्षेत्रको विकासका लागि उदयपुरको कोशी नदी आसपासका क्षेत्र, अछामको रामारोशन, बाजुराको बडिमालिका, अपी र दोर्दी हिमाल ट्रेकिङ रुटलाई समेत सरकारले व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने स्पष्ट पारेको छ । सरकारको यो कदमले नेपालको पर्यटन क्षेत्रको प्रवर्धनसँगै आर्थिक समृद्धिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।