• १६ चैत २०८२, सोमबार

नाफा सुरक्षित गर्दै लगानीकर्ता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १६ गते । सरकार गठनपछि खुलेकै दिन सेयर बजारमा उच्च गिरावट आएको छ । राजनीतिक स्थिरताले उछाल ल्याउने अपेक्षा गरिएको बजारले उल्टै गिरावटको बाटो समातेको हो । सरकार गठनको उत्साह टिक्न नपाउँदै बजारमा नाफा बुकिङ हाबी हुँदा पहिलो कारोबार दिनमै नेप्से परिसूचक ७१ अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने १५ अर्ब रुपियाँ माथि लागेको छ ।

निरन्तर सुधारको लयमा रहेको बजार तीन हजारको विन्दुनजिक पुगेर फेरि २८ सयको विन्दुमा आएको हो । 

सेयर बजार लगानीकर्ता माधव खनालका अनुसार पछिल्ला दिनमा बजारमा देखिएको तीव्र वृद्धिपछि आएको गिरावट स्वाभाविक करेक्सन हो । सरकार बन्नुअघि बजारले अपेक्षाको भरमा धेरै उचाइ लिएको भन्दै उहाँले लगानीकर्ताले नाफा सुरक्षित गर्नेतर्फ लाग्दा बजार घटेको र कारोबार रकम बढेको बताउनभुयो ।

आइतबार नेप्से ७१.०५ अङ्कले घटेर परिसूचक २८७९.११ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १२.९६ अङ्क घटेर ४८९.४८ को विन्दुमा छ ।

पन्ध्र अर्बमाथि कारोबार

आइतबार ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

चैत मसान्त नजिकिँदै गर्दा कर्जा तथा ब्याज भुक्तानीको दबाब, राजनीतिक गतिविधि र नीतिगत कडाइका सङ्केतले पनि बजार मनोविज्ञानमा प्रभाव पारेको भन्दै सेयर विश्लेषक पवीन्द्र आचार्य सरकार गठनअघि बजारमा आएको सुधारपछि लगानीकर्ताले नाफा बुकिङ गर्दा बिक्री चाप बढेको बताउनुहुन्छ ।