बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन २२ गते । सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दुई वटै निर्वाचन क्षेत्रको प्रारम्भिक मत गणनामा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले एक/एक स्थानमा अग्रता लिएका छन् ।
निर्वाचन क्षेत्र नं. १ मा फिक्कल गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ को मत गणना गर्दा एमाले उमेदवार प्रदीप कटुवालले दुई हजार ३४९ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
त्यस्तै नेपाली कांग्रेसका उज्ज्वल बरालले एक हजार तीन सय मत, रास्वपा उम्मेदवार धनेन्द्रजङ्ग कार्कीले एक हजार २६ मत र नेकपा उम्मेदवार डेकेन्द्र सुवेदीले ४४१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. २ मा सुनकोसी गाउँपालिकाको ७ वटै वडामा मतगणना कार्य सकिएको छ । पछिल्लो परिणाम अनुसार रास्वपाका उम्मेदवार आशिष गजुरेलले तीन हजार ३८४ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । सोही क्षेत्रमा नेकपा उम्मेदवार लेखनाथ दाहालले दुई हजार ४७६ मत, नेपाली कांग्रेस उम्मेदवार शुसिला थिङ्ले एक हजार ४९० मत, र एमाले उम्मेदवार मनोजजङ्ग थापाले एक हजार ४२३ मत प्राप्त गर्नुभएको छ ।
दुई वटै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार दिउँसोबाट एकैसाथ सुरु भएको छ । मतगणनाका लागि सर्वदलिय बैठक राखेर आवश्यक सहमति जुटेपछि दिउँसो १ बाट दुईवटै निर्वाचन क्षेत्रको मत गणना कार्य एक साथ सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कमलराज विष्टले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको पहिलो (भुइँ) तलामा निर्वाचन क्षेत्र नं. १ को र दोस्रो तलामा निर्वाचन क्षेत्र नं. २ को मतगणना गरिएको उहाँले बताउनुभयो ।
दुईवटै निर्वाचन क्षेत्रको तीन, तीन ठाउँमा गरी एकै पटक छ ठाउँमा मतगणना भइरहेको छ । सिन्धुली जिल्लामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५३ दशमलव ५८ प्रतिशत अर्थात कुल एक लाख १५ हजार २१४ मत खसेको छ । जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख १५ हजार १९ रहेका उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ को फिक्कल गाउँपालिका र निर्वाचन क्षेत्र नं. २ को सुनकोसी गाउँपालिकाबाट मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नं. १ मा ६० हजार ३८ मत र निर्वाचन क्षेत्र नं. २ मा ५५ हजार ९५३ मत खसेको छ । जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा गरी कुल २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ अन्तर्गत फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको ९,१३,१४ वडाको मत क्रमशः गणना गरिने सर्वदलिय बैठकमा सहमती भएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नं. २ अन्तर्गत सुनकोसी गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाको मतगणना क्रमशः गरिने सहमती भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।