सन्तोष दहित
दाङ, फागुन २२ गते । प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मतले अग्रता कायम गर्दै आएको छ । सुरुवाती चरणदेखि अग्रता कायम गर्दै आउनुभएको दाङ निर्वाचन क्षेत्र नं. १ रास्वपाका उम्मेदवार देवराज पाठकले आफ्नो प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै फाराकिलो मतले अगाडि हुनुहुन्छ । पाठकले १० हजार ७४३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले तीन हजार २१७ मतसहित पछ्याइरहनुभएको छ ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले एक हजार ३९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काउम्मेदवार मेटमणि चौधरीले एक हजार १०९ मत पाउनुभएको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी दाङ क्षेत्र नं. २ मा पनि रास्वाले लिड गरिरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाका विपिन आचार्यले ८ हजार २६२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका महासचिव समेत रहनुभएको शङ्कर पोखरेल भने दोस्रो स्थानमा हुनुहुहन्छ । उहाँले तीन हजार १५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले दुई हजार ४७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ९९७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदीले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार दुइ हजार ७०३ मतसहित सुवेदी अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले एक हजार ५८१ मतसहित पछ्याइरहनुभएको छ ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेयले ८२३ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीले २६९ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।