रमेश पौडेल
पोखरा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कास्की जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।
कास्की १ मा खडकराज पौडेल (गनेश)को अग्रता कायमै छ । उहाँले हालसम्मको मतगणनामा ८ हजार १२९ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेकपा (एमाले ) का उम्मेदवार बैनबहादुर क्षेत्री (अधिकारी)को ४ हजार ८२६ मत रहेको छ । त्यस्तै नेपाली कांग्रेसका तिलक रानाभाटले ४ हजार ३ सय ६१ मत प्राप्त गर्नुभएको छ । कास्की १ को मतगणना पोखरा १२, वडा कार्यालयको भवनमा गए रातिदेखि जारी छ । कास्की १ मा २०७४ र ०७९ को निर्वाचन एमालेले जितेको थियो ।
यसैगरी, कास्की २ मा रास्वपाका उत्तम पौडेलको अग्रता कायमै छ । उहाँले १० हजारभन्दा बढीको मतान्तर कायम गरी सक्नुभएको छ । हालसम्म २४ हजार २८ मतगणनामा उहाँले १६ हजार १ सय ५८ मत प्राप्त गर्नुभएको छ । एमालेका रश्मि आचार्यको ४ हजार ९ सय ११ मत रहेको छ । पोखराको ड्यामसाइडस्थित सिँचाइ तथा जलस्रोत व्यवस्था आयोजनाको भवनमा यहाँको मतगणना जारी छ ।
विगतको नतिजा हेर्ने हो भने कास्की २ मा एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेको थिएन । आफ्नो गढ मान्दै आएको कास्की २ मा समेत एमालेले नराम्ररी पराजित हुने प्रारम्भिक सङ्केत देखिन्छ। कास्की २ मा ८४ हजार १३४ मतदाता छन् । कास्की २ को अन्तिम मतपरिणाम शनिबारसम्म आइपुग्ने कास्की क्षेत्र २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले जानकारी दिनुभयो । कास्की २ मा २० जना गणकले मतगणना गरिरहेका छन् ।
उता, कास्की ३ मा रास्वपाकी बिना गुरुङले करिब ५ हजार ५ सय मतान्तर कायम गर्नुभएको छ । जारी मतगणनामा २३ हजार ४ सय १७ मतमध्ये गुरुङले १६ हजार ४ सय ९४ मत प्राप्त गर्दै अग्रस्थान कायम गर्नुभएको हो । जब कि नेपाली कांग्रेसका मनोज गुरुङले ७ हजार ८ सय ४५ मत प्राप्त गर्नुभएको छ । अघिल्ला दुई वटा चुनाव जितेको नेकपा एमालेले तेस्रो स्थानमा छ । एमालेका दामोदर पौडेल बैरागीको ३ हजार ९ सय ४४ मत छ । कास्की ३ को मतगणना पोखरा ५ मालेपाटनस्थित कृषि मन्त्रालयमा जारी छ ।
मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले तीन वटा निर्वाचन क्षेत्रमा ४५ प्रतिशत मतगणना भइसकेको जानकारी दिनुभयो । शनिबार बिहानसम्म तिनै निर्वाचन क्षेत्रको परिणाम घोषणा गर्ने उहाँले बताउनुभयो ।
कास्की जिल्लामा ३ लाख ८ हजार ५ सय ७२ मतदातामा ६१ प्रतिशत बढी मत खसेको थियो । कास्की क्षेत्र नं ३ मा हालसम्म ३१ हजार ८ सय ९२ मतगणना भएकोमा १ हजार ३ सय ८८ मत बदर भएका छन् भने ३० हजार ४ सय ५ मत सदर भएको बेल्बासेको भनाइ छ ।