• १४ असार २०८१, शुक्रबार

शिक्षालयमा ‘डीआई’को दादागिरी

blog

काठमाडौँ, साउन ४ गते । सामाजिक सञ्जालमा अहिले एउटा दर्दनाक भिडियो निकै चर्चामा छ । भिडियोमा विद्यार्थीलाई लस्करै घोप्टो पारेर हातखुट्टा टेक्न लगाइएको छ र एक व्यक्तिले फलामको पाताजस्तो देखिने वस्तुले पिठ्युँमा पालैपालो तीन पटक पिटेको देखिन्छ । 

झट्ट हेर्दा सुरक्षा निकायमा भर्ना भएका व्यक्तिलाई उच्च दर्जाका अधिकारीले भौतिक तालिम गराएको अनुभव दिलाउने उक्त भिडियो ललितपुरको युनाइटेड एकेडेमीको रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । पिटाइ खाएपछि विद्यार्थी ऐया ऐया भन्दै जुरुक्क उठेर यताउति भागेको भिडियोमा देखिन्छ । तर एकेडेमीले भने धेरै पुरानो भिडियोलाई अहिले नियतवश कोही व्यक्तिले सार्वजनिक गरेको आरोप लगाएको छ । 

एक साताअघि ललितपुरकै चापागाउँस्थित लिटिल स्टार इङ्ग्लिस एकेडेमीका प्राचार्य चक्र महर्जनले कक्षा पाँच पढ्ने ११ वर्षीय दिपेश खड्कालाई निर्घात कुटपिट गरे । महर्जनको कुटाइबाट खड्काको जिउ घाउ र निलडामले भरियो । उक्त घटनापछि  पीडकलाई कारबाही माग गर्दै खड्का परिवारले महानगरीय प्रहरी वृत्त चापागाउँमा निवेदन दिएको थियो ।  तर उक्त निवेदनपछि स्कुल प्रशासनले खड्कालाई कक्षा १२ सम्म निःशुल्क पढाइदिने तथा परिवारलाई आर्थिक सहायता गर्ने प्रलोभन दिएपछि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । शैक्षिक संस्थाले पढाउला र दुई/चार शब्द सिकाउला भनेर आफ्ना छोराछोरी जिम्मा लगाएका अभिभावक पछिल्लो समय ‘डीआई’ (अनुशासन इन्चार्ज)को क्रुर सजायका कारण तनावमा छन् । यस्ता घटनाले विद्यार्थीलाई समेत मानसिक बोझ थपिदिएको छ । 

पछिल्लो समय विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा सबैजसो निजी शैक्षिक संस्थाले डीआई राख्ने गरेका छन् । जसको मुख्य काम विद्यार्थीले कुनै गल्ती ग-यो भने सचेत गराउनेदेखि साथीको अगाडि उभ्याएर चरम यातना दिनेसम्मको हुन्छ । शिक्षण संस्थामा पढ्न आएका विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूलाई सोहीअनुसारको परामर्श दिने विज्ञ (काउन्सिलिङ इन्चार्ज) राख्नुपर्नेमा न्यूनतम योग्यतासमेत पूरा नगरेका व्यक्तिलाई डीआईका नाममा बाहुबल भएका चुल्ठेमुन्द्रे व्यक्तिलाई राख्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ । 

केही वर्षअघि लाजिम्पाटको एक कलेजका डीआईले दिएको यातना सहन नसकेर एक विद्यार्थीले आत्महत्या नै गरे । विद्यार्थीले चुरोट पिएको विषयलाई डीआईले कलेजबाट निकाल्ने धम्की दिएका थिए । सोही धम्की सहन नसकेपछि विद्यार्थीले आत्महत्याको बाटो रोजेका थिए ।  शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले भन्नुभयो, “शिक्षण संस्था विद्यार्थीको आचरण सुधार्ने थलो हो तर विद्यार्थीको आचरण सुधार्न चुल्ठेमुन्द्रेको सहारा लिने र त्यसमार्फत विद्यार्थीलाई आचरण र नैतिकवान् तुल्याउने दुस्साहस गर्नु निजी शिक्षण संस्थाको गम्भीर लापरबाही हो ।”

अहिले अधिकांश स्कुल कलेजले विद्यार्थीले उल्लेख्य प्राप्ताङ्क हासिल गर्न सके मात्रै उपलब्धि ठान्ने गरेका छन् । साथै कुनै शैक्षिक तह पार गर्नुसँग मात्र उसको उपलब्धिलाई जोडिँदा विद्यार्थीमा अनावश्यक तनाव थपिने गरेको विषयमा भने शैक्षिक संस्था सञ्चालकको ध्यान गएको देखिँदैन । 

युनाइटेड एकेडेमीको घटनाबारे ललितपुर महानगरपालिकाले एकेडेमीसँग सोधपुछसमेत गरेको थियो । महानगरका शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले भन्नुभयो, “एकेडेमीसँग बुझ्दा भिडियो निकै पुरानो रहेको जानकारी पाइयो । तैपनि वास्तविकता केहो स्पष्टसँग लेखेर पठाउन निर्देशन दिएका छौँ ।”


के छ सजायको व्यवस्था ? 

संविधानको धारा ३९ को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक, मानसिक वा अन्य कुनै पनि प्रकारको यातना दिन नपाइने उल्लेख छ । साथै बालबालिकासम्बन्धी ऐनले यातना दिने व्यक्तिलाई जरिवाना असुल गर्नेदेखि जेल पठाउनेसम्मको सजायको व्यवस्था गरेको छ ।

बालबालिका ऐन २०७५ को दफा ७२ अनुसार बालबालिकालाई घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु¥याउनेलाई ७५ हजार रुपियाँ जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । 

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान)का सचिव ऋषि तिवारीले विद्यार्थीलाई शैक्षिक संस्थामा कुनै पनि हिसाबले यातना दिनु निन्दनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी चकचके हुन्छन् । गल्ती पनि गर्न सक्छन् । यस्तो बेलामा परामर्श दिने हो यातना दिने होइन । हिसान यस्ता क्रियाकलापको विरोधमा छ ।”

 

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।