• ६ जेठ २०८१, आइतबार

प्रतिनिधिसभाको कार्यकाल मनोनयन दर्ताको दिनसम्म

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यकाल आगामी निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको छ । सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उहाँले वर्तमान प्रतिनिधि सभाको कार्यकाल प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिनसम्म रहने बताउनुभएको हो । 

प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र आफूबीच छलफल चलेको जानकारी दिनुहुँदै सबैको बुझाइ मनोनयन दर्ता गर्ने दिनसम्म रहन्छ भन्ने पाएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा छलफल गर्दै जाने र छलफलबाट आएको निस्कर्षअनुसार गर्ने भन्नुभएको सभामुख सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रधानमन्त्रीज्यूले भनेकै कुरा छलफल गर्दैजाउँ, के निस्कर्ष निस्किन्छ त्यहीअनुसार गर्ने भन्ने कुरा भयो, तर मोटामोटी हाम्रो सबैको बुझाई नोमिनेशनको दिनसम्म भन्ने रह्यो ।”

सभामुख सापकोटाले प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा संविधानविद्हरुसँग पनि छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।