• १९ चैत २०८२, बिहिबार

राष्ट्रिय सभाको २० औँ अधिवेशन सुरु:

जनअपेक्षा पूरा गर्न र सुशासन कायम गर्न अध्यक्ष दाहालको आह्वान

blog

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल

गोरखापत्र अनलाइन 

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाले एक परिपक्व, सुझबुझयुक्त र अभिभावकीय सदनको रूपमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभएको छ। 

बिहीबारदेखि सुरु भएको सङ्घीय संसद राष्ट्रिय सभाको २० औँ अधिवेशनको शुभारम्भका अवसरमा मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।

अध्यक्ष दाहालले २०७४ सालदेखि हालसम्मका १९ वटा अधिवेशनहरूमा माननीय सदस्यहरूले निर्वाह गरेको सक्रिय भूमिकाको प्रशंसा गर्दै राष्ट्रिय सभालाई 'स्थायी र समन्वयकारी सदन' को रूपमा परिभाषित गर्नुभयो।

नयाँ राजनीतिक परिस्थिति र सरकारको स्वागत

मन्तव्यका क्रममा अध्यक्ष दाहालले देशको पछिल्लो राजनीतिक परिवर्तन र नयाँ जनादेशको चर्चा गर्नुभयो। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट प्राप्त नयाँ जनादेशअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत र प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई उहाँले स्वागत गर्नुभयो।

"नयाँ सरकारप्रति जनताले सुशासन, पारदर्शिता, जवाफदेहिता र विकास निर्माणमा गति आउने ठूलो अपेक्षा गरेका छन्," अध्यक्ष दाहालले भन्नुभयो, "जनताका यस्ता आकाङ्क्षालाई सम्बोधन गर्न सरकारलाई नीति, कानुन र निगरानीका माध्यमबाट उचित दिशानिर्देशन गर्नु हाम्रो साझा दायित्व हो।"

चुनौतीपूर्ण परिस्थितिमा सभा सञ्चालन

अध्यक्ष दाहालले बानेश्वरस्थित सङ्घीय संसद भवनमा भएको क्षति र सिंहदरबारस्थित निर्माणाधीन नयाँ भवन सम्पन्न नभइसकेका कारण हाल चुनौतीपूर्ण परिस्थितिमा सभा सञ्चालन गर्नुपरेको जानकारी दिनुभयो। उहाँले नयाँ भवन छिट्टै सम्पन्न हुने र आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग गरी संसदीय कार्यलाई अझ व्यवस्थित र डिजिटल बनाइने विश्वास व्यक्त गर्नुभयो।

नवनिर्वाचित सदस्यलाई स्वागत र अभिमुखीकरण

यस अधिवेशनबाट कार्यभार सम्हाल्नुभएका १८ जना नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै अध्यक्ष दाहालले उहाँहरूको अनुभवले सदनलाई थप समृद्ध बनाउने बताउनुभयो। संघीय संसद सचिवालयले नवनिर्वाचित सदस्यहरूका लागि संसदीय अभ्यास, विधायकी प्रक्रिया र मर्यादासम्बन्धी अभिमुखीकरण कार्यक्रमको तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय हितलाई प्राथमिकता दिन अपिल

अध्यक्ष दाहालले राष्ट्रिय सभा विधेयकहरूको सूक्ष्म अध्ययन र परिमार्जन गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै भन्नुभयो, "हामी सबैको साझा उद्देश्य जनताको हित र सुशासन हो। राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन म माननीय सदस्यहरूलाई अपिल गर्दछु।"

अध्यक्ष दाहालले २० औँ अधिवेशन पूर्ण रूपमा सफल हुने र यसले मुलुकको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने विश्वासका साथ आफ्नो मन्तव्य टुङ्ग्याउनुभएको थियो।