काठमाडौँ, चैत १९ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि बसेको पहिलो बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
“राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौँ ।”
सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
तत्कालीन नेकपा (माओवादी) ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको उल्लेख गर्दै उहाँले माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिनुभयो ।
बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “२०६४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र) ले झन्डै यस्तै जनमत प्राप्त गरेको थियो । २०७४ सालमा पनि हामीले पार्टी एकता गर्दा झन्डै दुई तिहाइ मत थियो । तर, त्यसलाई हामीले सदुपयोग गर्न जानेनौँ, सकेनौँ । हाम्रा यस्ता कमजोरीबाट शिक्षा लिएर देश र पार्टीलाई अगाडि लैजानुहोस् ।”
पुनले सामाजिक न्याय, रूपान्तरण र राष्ट्रिय स्वाधीनताका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै संविधान संशोधनको विषयमा भने सचेत गराउनुभयो । उहाँले लोकतन्त्र, गणतन्त्र र समावेशिताजस्ता संविधानका आधारभूत विषयमा कुनै सम्झौता हुन नसक्ने प्रस्ट पार्नुभयो । तीबाहेकका अन्य विषय र जनजीविकाका सवालमा आफ्नो पार्टीले पूर्णतः सहयोग गर्ने उहाँको भनाइ थियो ।