• ६ पुस २०८१, शनिबार

तिलोत्तमा घटनाबारे गृहमन्त्रीको जवाफ माग

blog

काठमाडौं, साउन २ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले प्रहरीको शासन चलाउन खोजेको हो भनेर गृहमन्त्रीलाई प्रश्न गर्नुभयो । सांसद भट्टराईले गृहमन्त्रीले आफ्नो भाई प्रमुख भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराउनुभएको आरोप लगाउनुभयो ।

वडा अध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारबाही गर्न उहाँको माग छ । जनप्रतिनिधिलाई सार्वजनिक स्थानमा अपमान गरेर र प्रहरी शासन लगाएर लोकतन्त्र बलियो नहुने उहाँको भनाइ छ । सो घटनाको सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनुपर्ने सांसद भट्टराईले माग गर्नुभयो ।

त्यस्तै, उहाँले प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग गर्नुभयो । लोकतन्त्रको मूल्य, मान्यता र संसदीय परम्परा अनुरुप सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई दिनुपर्ने उहाँको भनाइ छ । प्रतिपक्ष दलबाट सभापति बनाउन उहाँले ध्यानाकर्षण गराउनुभयो ।

सांसद भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गठबन्धन जोगाउन पदको बाँडफाँड गरेको सन्देश बाहिर गएकाले यसबारे प्रष्ट पार्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भारत भ्रमणको क्रममा राष्ट्रपति र प्रधानमन्त्री को हुने भनेर बाँडफाँट गरिएको कुरा सामाजिक सञ्जालमा आएको भन्दै त्यस्तो नहोस् भन्ने चेतावनी समेत दिनुभयो ।

त्यस्तै, नागरिकतासम्बन्धी विधेयक फास्ट ट्रयाकमा पारित गरेर नागरिकता विहीनहरुलाई नागरिकता दिलाउनुपर्ने उहाँले बताउनुभयो ।