काठमाडौं, साउन २ गते । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले ‘‘शपथसम्बन्धी विधेयक, २०७८’’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची छ ।
यसैगरी, खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।