• २७ पुस २०८१, शनिबार

युवा गल्फर सुवासलाई भारतमा छात्रवृत्ति

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १ गते । नेपालका नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले भारतको तरुण सरदेशाई गल्फ एकेडेमीमा छात्रवृत्ति पाउनुभएको छ । नेपाल गल्फ सङ्घ र सङ्घका अध्यक्ष तासी घलेको सहयोगमा गत महिना मात्र प्रशिक्षणका लागि उक्त एकेडेमीमा जानु भएका सुवासलाई एकेडेमीले लामो समयसम्म प्रशिक्षणको अवसर दिएको हो ।

चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) को प्रशिक्षणमा रहनुभएका सुवास गल्फ सङ्घको खर्चमा तीन महिनाका लागि गत महिना मात्र तरुण सरदेशाई गल्फ एकेडेमीमा जानुभएको थियो । सुवासको गल्फ प्रतिको लगाव र उहाँको पारिवारिक आर्थिक अवस्थाका कारण एकेडेमीले लामो समयसम्म उहाँलाई छात्रवृत्ति दिएको हो । 

सुवास १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा दोहोरो स्वर्ण विजेता हुनुहुन्छ । सागमा नेपालले जितेको यो ऐतिहासिक स्वर्ण हो । बल ब्वाई हुँदै नेपाली गल्फमा छाउनुभएको गरिब परिवारका सुवासलाई गल्फ सङ्घका अध्यक्ष घलेको ठूलो सहयोग रहँदै आएको छ । 

एमेच्योर सुवासले सानो उमेरमै प्रोफेसनललाई हराएर सूर्य नेपाल गल्फ टुरमा तीनवटा उपाधि समेत आफ्नो नाममा लेखाउनुभएको छ । एकेडेमीले पनि सुवासको उज्ज्वल भविष्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । 

यसैगरी नेपाल गल्फ सङ्घकै समन्वयमा अर्का युवा एमेच्योर सद्भाव आचार्य पनि अहिले तरुण सरदेशाई गल्फ एकेडेमीमा परिवारको खर्चमा दुई वर्ष अध्ययन र प्रशिक्षणका लागि जानुभएको छ ।