• २४ कात्तिक २०८२, सोमबार

प्रदेश सङ्ग्रहालयमा कोसेलीघर बन्दै

blog

गण्डकी प्रदेश सङ्ग्रहालयमा कोसेलीघर शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, कात्तिक २४ गते । पोखरा महानगरको वडा–९, नयाँबजारमा रहेको गण्डकी प्रदेश सङ्ग्रहालयमा कोसेलीघर बन्ने भएको छ । प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने कोसेलीघर सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शिलान्यास गर्नुभएको हो ।

प्रदेश सङ्ग्रहालय परिसरमा दुई करोड ८३ लाख २७ हजार नौ सय ३२ रुपियाँमा कोसेलीघर बन्न लागेको हो । आगामी असार मसान्तसम्म सक्ने गरी टुडे बिल्डर्सले यसको ठेक्का पाएको छ । २०४१ माघ २३ देखि सर्वसाधारणका लागि खुला गरिएको यो सङ्ग्रहालय २४ रोपनीमा फैलिएको छ । 

देशको राजनीतिक संरचनाअनुसार अहिले यो सङ्ग्रहालय गण्डकी प्रदेश सरकार मातहत छ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले कोसेलीघरले प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवर्धनमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले सरकारले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धी हाँसिल गरिरहेको उल्लेख गर्नुभयो । यसले पोखराको पर्यटन प्रवर्धनमा योगदान गर्दै गण्डकी प्रदेशको सांस्कृतिक पहिचानसमेत झल्काउने उहाँको भनाइ छ । “सड्ग्रहालयमा बन्दै गरेको कोसेली घरले पर्यटकलाई प्रदेशको विविध संस्कृतिबारे बुझ्न सहज बनाउने छ”, उहाँले भन्नुभयो । 

सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीयको सहयोगबिना दिगो उपलब्धी हासिल नहुने विचार राख्नुभयो । उहाँले पश्चिमी संस्कृतिको तिव्र प्रभावका कारण मौलिक परम्परा, रीतिरिवाज र कला हराउँदै गएको अवस्थामा कोसेलीघरले संरक्षणको सन्देश दिने उहाँको भनाइ छ । 

कोसेली घरले प्रदेशका ग्रामीण बस्तीमा प्रचलित कला, शिल्प र वास्तुकलाको नमुना प्रस्तुत गर्ने छ । पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सङ्ग्रहालयमा बन्दै गरेको कोसेली घरले पोखरा र समग्र गण्डकी प्रदेशलाई सांस्कृतिक र पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सघाउने बताउनुभयो ।