• २४ कात्तिक २०८२, सोमबार

बेपत्ता कहारको दुई दिनपछि शव फेला

blog

प्रवीण कुमार शर्मा 

रौतहट, कात्तिक २४ गते । रौतहट गौर नगरपालिका–५, बरहवा पुलस्थित बरहवा खोलामा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले  जनाएको छ । 

चन्द्रपुर नगरपालिका–६ का सुरेश महतो कहारको २० वर्षीय छोरा सुनिल कुमार कहारको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कंडेलले जानकारी दिनुभयो  । 

पानीमा घोप्टो परी तैरिरहेको अवस्थामा कहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ  । 

कार्तिक २२ गतेदेखि बेपत्ता कहारको खोजी कार्यका लागि आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका थिए  । 

कहारको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको  छ ।