• २४ कात्तिक २०८२, सोमबार

पशुपालक किसानलाई पूर्ण खोपबारे सचेतना

blog

गुर्जामा गरिएको पूर्ण खोपसम्बन्धी कार्यक्रमका सहभागीहरू । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक २४ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जामा पशुचौपायालाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पशुचौपायामा पूर्ण खोपसम्बन्धी अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ । 

रोग लागेर पशुचौपायको क्षति नहोस् भनेर पशुपालक किसानलाई सोमबार पूर्ण खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय म्याग्दी, गाउँपालिका पशुसेवा शाखा र वडा कार्यालयले संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा पशुचौपायालाई निरोगी बनाउन अनिवार्य रूपमा खोप लगाउन किसानलाई अनुरोध गरिएको छ । 

कार्यक्रममा गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले पशुचौपायालाई निरोगी बनाइ उत्पादन वृद्धि गर्न खोप लगाउनुपर्ने बताउनुभयो । स्वस्थ पशुबाट उत्पादन भएको पशुजन्य पदार्थ उपभोग गरेमा मात्र मानव स्वास्थ्य राम्रो हुने उहाँको भनाइ छ । सरकारले किसानको हितलाई प्राथमिकतामा राखेर पशुचौपायलाई निःशुल्क खोप लगाउने अभियान सञ्चालन गरेकाले सही सदुपयोग गरेर फाइदा लिन उहाँले अनुरोध गर्नुभयो । 

पशुसेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य अधिकृत सुवास रेग्मीले खोपको माध्यमबाट पशुको क्षति न्यूनीकरण हुनुका साथै स्वस्थ पशुजन्य पदार्थको उत्पादन हुने भएकाले त्यसले मानव स्वास्थ्यमा समेत राम्रो प्रभाव पर्ने बताउनुभयो । खोप नलगाएका भेडाबाख्रा तथा पशुचौपायाहरू बिक्री वितरण गर्न तथा उपभोग समेत नपाइने भएकाले अनिवार्य रूपमा पशुचौपायमा खोप लगाउन उहाँले किसानलाई अनुरोध गर्नुभयो । 

कार्यक्रममा धवलागिरी गाउँपालिका पशुसेवा शाखा प्रमुख चन्द्रकला दाहालले पशुचौपायलाई निरोगी बनाउन र स्वस्थ पशुजन्य उत्पादनमा गाउँपालिकाले जोड दिएको बताउनुभयो । पशुचौपायामा पूर्णखोप अभियानलाई प्रभावकारी बनाउन किसानहरूले पनि चासो दिनुपर्ने उहाँको भनाइ छ । 

गाई, भैँसीमा लाग्ने लम्पीस्किन तथा भेडाबाख्रा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क उपलब्ध हुने उहाँले बताउनुभयो । खोप लगाउन पशु प्राविधिकहरू किसानको गोठसम्म पुग्ने उहाँको भनाइ छ । 

पशुसेवा कार्यालय म्याग्दीका पशु स्वास्थ्य प्राविधिक मणिलाल सापकोटाले सञ्चालन गर्नुभएको अभिमुखिकरण कार्यक्रममा गुर्जाका करिब ५० जना पशुपालक किसानहरूको सहभागिता रहेको थियो । खोप र पशुस्वास्थ्यका बारेमा गाउँमा आएर सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकोमा पशुपालक किसान दुर्गाबहादुर विकले खुसी व्यक्त गर्दै भेडाबाख्रामा लाग्न सक्ने रोग र उपचार विधिका बारेमा सम्बन्धित निकायबाट अझै प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।