• २४ कात्तिक २०८२, सोमबार

इन्डोनेसियाका दिवङ्गत राष्ट्रपति सुहार्तोलाई राष्ट्रिय नायक घोषणा

blog

इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तो ।

जकार्ता, कात्तिक २४ गते । इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ । 

उहाँको मानव अधिकार अभिलेखका कारण कार्यकर्ता र शिक्षाविदको तीव्र विरोध हुँदाहुँदै पनि सरकारको निर्णय अनुसार उहाँलाई राष्ट्रका ‘नायकको सूची’ मा समावेश गरिएको हो । राष्ट्रपतिको सैन्य सचिवले पढेको औपचारिक आदेशअनुसार सुहार्तोलाई यो वर्षका १० नयाँ राष्ट्रिय नायकमध्ये एकका रूपमा घोषित गरिएको हो ।

तीमध्ये इन्डोनेसियाका पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति, प्रमुख महिला अधिकार अधिवक्ता, इस्लामिक विद्वान र स्वतन्त्रता सेनानी पनि सामेल छन् । हालसम्म राष्ट्रिय नायकको सूचीमा २०० भन्दा बढी व्यक्तिको नाम सूचीकृत भइसकेको छ । वर्तमान राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबारको राष्ट्रिय नायक दिवसको अवसरमा आयोजित भव्य समारोहको अध्यक्षता गर्नुभयो । 

प्रबोवो दिवङ्गत सुहार्तोका पूर्व ज्वाइँसमेत हुनुहुन्छ । सुहार्तोलाई राष्ट्रिय नायकको उपाधि दिने तयारीले देशभर विवाद र आक्रोशको लहर उठाएको थियो । सोबारे प्रश्न उठेपछि राष्ट्रपति प्रबोवोको कार्यालयले राष्ट्रपतिलाई उपाधि प्रदान गर्ने संवैधानिक अधिकार रहेको भन्दै निर्णयको बचाउ गरेको थियो ।

सन् १९६७ मा असफल सैनिक कूपछि सुहार्तोले सत्ता हातमा लिनुभएको थियो र तीन दशकभन्दा बढी समयसम्म इन्डोनेसियामा शासन गर्नु भएको थियो । उहाँको शासनकाल राजनीतिक असहमतिमाथिको कठोर दमन, मानव अधिकार उल्लङ्घन र व्यापक भ्रष्टाचारका आरोपले कलङ्कित बनेको थियो । सन् २००८ मा उहाँको ८६ वर्षको उमेरमा निधन भएको थियो ।

गत हप्ता करिब ५०० नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी र शिक्षाविदले संयुक्तरूपमा राष्ट्रपति प्रबोवोलाई सार्वजनिक पत्र पठाउँदै सुहार्तोलाई नायक घोषणा नगर्न आग्रह गरेका थिए । पत्रमा भनिएको थियो, “सुहार्तोलाई उपाधि प्रदान गर्नु लोकतान्त्रिक मूल्यको अपमान हो र इतिहासको खतरनाक विकृति हो, जसले उहाँका पीडितलाई पुनः घाइते बनाउँछ ।”

मानव अधिकार समूह कोन्ट्रासका संयोजक डिमास बागुस आर्याले एएफपीसँग कुरा गर्दै सुहार्तोलाई राष्ट्रिय नायक घोषणा गर्नु ‘अनैतिक कदम’ भएको बताउनुभयो । उहाँका शब्दमा, “मानव अधिकार उल्लङ्घन र राज्य हिंसामा संलग्न भएको आरोप लागेका व्यक्ति राष्ट्रका नायक कहलिन योग्य हुँदैनन् । यस्तो निर्णयले दण्डहीनतालाई सामान्य बनाउन सहयोग गर्छ ।”

तर राज्य सचिव प्रसेतियो हादीले भने सरकारको निर्णयको बचाउ गर्दै भन्नुभयो, “यो निर्णय हाम्रो इतिहास र पूर्व नेताको योगदानप्रति सम्मान प्रकट गर्ने एक हिस्सा हो । सुहार्तोले पनि आफ्नो समयमा राष्ट्र र जनताका लागि उल्लेखनीय योगदान गर्नु भएको छ ।” सोमबारको समारोहमा सुहार्तोकी छोरी सिती हरदियन्ती रुक्माना र छोरा बाम्बाङ त्रिहातमोदजो समेत उपस्थित हुनुहुन्थ्यो । 

समारोहपछि सितीले सञ्चारकर्मीलाई सम्बोधन गर्दै भन्नुभयो, “कृपया मेरा बुवाले देशका लागि युवावस्थादेखि बुढेसकालम्म गरेका सङ्घर्ष सम्झनुहोस् । उहाँले इन्डोनेसियाका जनताको हितका लागि आफ्नो जीवन अर्पण गर्नु भएको थियो ।” 

यस वर्ष सम्मानित अन्य नौ व्यक्तिमध्ये श्रमिक अधिकारका लागि लड्दा मारिएकी कार्यकर्ता मार्सिना र सन् २००९ मा निधन भएका पूर्व राष्ट्रपति अब्दुर्रह्मान वाहिद पनि सामेल हुनुहुन्छ । प्रबोवोले नेतृत्व गर्नु भएको यो निर्णयले इन्डोनेसियामा पुनः पुराना घाउ चर्काउने र राजनीतिक तथा नैतिक बहसलाई पुनः जीवित बनाएको विश्लेषकले बताएका छन् । रासस/एएफपी