• २७ पुस २०८१, शनिबार

एन्जिला लिनिङको सद्भावना दूत

blog

काठमाडौँ, असार ३२ गते । नेपालको महिला राष्ट्रिय फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा शुक्रबार अन्तर्राष्ट्रिय खेलकुद सामग्री तथा पोसाक कम्पनी लिनिङको सद्भावना दूतमा नियुक्त हुनुभएको छ । पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यावसायिक फुटबल खेलिसकेकी एन्जिला र लिनिङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड लिङ्क कम्पनी प्रालिका सीईओ राजन महर्जनबीच शुक्रबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एन्जिला दुई वर्षका लागि लिनिङको सद्भावना दूत बन्नुभएको हो ।

सो सम्झौता पत्रमा भनिएको छ, एन्जिलाको एटिएस १६ लोगो चाइना ट्रेडिङलाई उपलब्ध गराइने र सो लोगो प्रयोग गरी खेल पोसाकलगायत खेलकुद सामग्री उत्पादन गर्ने अनुमति चाइना ट्रेडिङले प्राप्त गर्नेछ । एन्जिलाको लोगो प्रयोग गरेर उत्पादन गरिएका सामान बिक्रीपश्चात् चाइना ट्रेडिङले खुद नाफाको दस प्रतिशतमध्ये पाँच एन्जिला र पाँच अन्य खेलाडीलाई प्रदान गर्नेछ ।

यसैगरी लिनिङले एन्जिलालई आफ्ना उत्पादन प्रयोगका लागि दिनेछ भने एन्जिलाले एटिस १६ ब्रान्डका लोगो भएको खेल पोसाक लगाउनुपर्नेछ । फुटबल, ब्याडमिन्टन र टेबलटेनिससँग सहकार्य गर्दै आएको लिनिङ ब्रान्डले औपचारिक रूपमा नेपाली फुटबल खेलाडीसँग प्रायोजन सम्झौता गरेको यो पहिलो पटक हो ।

एन्जिलाले प्रायोजकलाई यो अवसरका लागि धन्यवाद दिँदै आफूलाई मात्र नभएर अन्य खेलाडीलाई पनि सहयोग गर्ने भनेकोमा झन् खुसी भएको छु भन्नुभयो । उहाँले नेपाली महिला फुटबललाई यसरी नै सहयोग गर्दै जान अन्य प्रायोजकलाई पनि अनुरोध गर्नुभयो । नेपालकी नम्बर एक महिला गोलकिपर एन्जिला घरेलु महिला लिग च्याम्पियन एपीएफको गोलपोस्ट पनि सम्हाल्नुहुन्छ ।