राममणि दाहाल
मकवानपुर, कात्तिक २४ गते । आगामी फागुनका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यालयहरुमा मतदाता नामावली दर्ता गराउनेहरुको विशेष घुइँचो लाग्दै आएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनीपछि बनेको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनका लागि आगामी फागुन २१ गते तय गरेसँगै उक्त निर्वाचनप्रति युवा पुस्तामा चासो देखिएको छ ।
गत असोज १० गतेबाट मतदाता नामावली सङ्कलन सुरु गरेसँगै बागमती प्रदेशमा मतदाता दर्ता गर्न निर्वाचन कार्यालयहरुमा युवा पुस्ताको उत्साहपूर्ण सहभागिता पाइएको हो ।
आफू बसेकै स्थानबाट मतदाता दर्ता गराउन पाउने भएपछि रोजगारी र अध्ययन गर्दै गरेका युवा विद्यार्थीहरुको मतदाता दर्तामा अधिक उपस्थिति रहेको बागमती प्रदेशका विभिन्न जिल्लाका निर्वाचन कार्यालयले जनाएका छन् ।
मतदाता दर्ताको समय एकसाता बाँकी हुँदा बागमती प्रदेशको उपत्यका बाहेकको १० जिल्लामा १६ हजार जनाभन्दा बढीले मतदाता नामावलीका लागि दर्ता गराएको तथ्याङ्क छ ।
बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले मतदाता दर्तामा युवा पुस्ताको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो ।
‘‘चाडपर्वअघि सामान्य रुपमा मतदाता दर्ताका लागि आएका थिए ।,’’ उहाँले भन्नुभयो, ‘‘तिहारपछि दैनिक चारसयको हाराहारीमा आउने गरेका छन् ।’’
उहाँले अगाडि भन्नुभयो, ‘‘२५ वर्षभन्दा कम उमेरका बढी मतदाता दर्ता गर्न आएका छन्, पछिल्लो समय गाउँबाट विगतमा मतदाता दर्ता गर्न छुटेकाहरु पनि आउन थालेका छन् ।’’
मकवानपुरमा गत शुक्रबारसम्म दुई हजार ७८२ जनाले मतदाता नामावली दर्ता गराएकोमा आइतबार तीन सयभन्दा बढी थपिने अनुमान गरिएको छ ।
गत असोज मसान्तमा सार्वजनिक मकवानपुरमा यसअघि तीन लाख दुई हजार २४३ मतदाता थिए ।
तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको चितवनमा पनि मतदाता नामावली दर्ता गराउनेमा युवा पुस्ताकै सहभागिता बढी रहेको देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय, चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले मतदाता दर्ताका आउनेमा ९० प्रतिशत युवा रहेको बताउनुभयो ।
विदेश गएर फर्किएका र पहिले छुटेकाहरुसमेत मतदाता नामावली दर्ता गराउन आइरहेको उहाँका भनाइ छ ।
चितवनमा आइतबार दिउँसोसम्ममा पाँच हजार ७८८ जनाले मतदाता नामावली दर्ता गराएकामा सात सय चितवन बाहिरका जिल्लाका रहेको उहाँले जानकारी दिनुभयो । चितवन जिल्लामा यसअघि चार लाख २१ हजार ३८२ मतदाता थिए ।
‘‘चितवनमा दैनिक चार जना मतदाता नामावली दर्ताका लागि आउने गरेका छन् ।’’ निर्वाचन अधिकारीले भन्नुभयो, ‘‘बाहिरबाट अनलाइनमा फर्म भनेको कम्प्युटर दर्ता प्रणाली चलेको समयमा फोटो खिच्ने र बायोमेट्रिकलगायतका काम एक मिनेटमा नै सकिन्छ ।’’
सिन्धुली जिल्लामा गत शुक्रबारसम्ममा आसन्न निर्वाचनका लागि ८५३ जनाले नयाँ मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीमा कात्तिक १६ गतेसम्म १८ वर्ष पुगेका मतदाताको सङ्ख्या दुई लाख आठ हजार ४१५ जना छ ।
यस्तै, सिन्धुपाल्चोक जिल्लामा गत शुक्रबारसम्ममा एक हजार २० जनाले मतदाता नामावलीका लागि दर्ता गराएका छन् ।
सिन्धुपाल्चोकमा जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद प्याकुरेलले नागरिकता बनाएसँगै मतदाता नामावलीका लागि दर्ता गराउन आउने गरेको भन्दै पछिल्लो समय मतदाता नामावली दर्ता गराउन आउनेमा १६ देखि २० वर्ष उमेर समूहका अधिक सङ्ख्या रहेको बताउनुभयो । सिन्धुपाल्चोक जिल्लामा गत असोज मसान्तसम्मको अभिलेख अनुसार मतदाता सङ्ख्या दुई लाख ६५ हजार १९१ छ ।
आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरी काभ्रेपलाञ्चोक जिल्लामा मतदाता नामावली सङ्कलन सुरु गरेसँगै युवाको सहभागिता उत्साहजनक पाइएको छ । गत शुक्रबारसम्ममा मतदाता नामावली दर्ता गराउनेको सङ्ख्या काभ्रेपलाञ्चोकमा दुई हजार १०९ जना छन् । काभ्रेपलाञ्चोकमा पछिल्लो मतदाता सङ्ख्या तीन लाख १३ हजार ३५० जना रहेको जिल्ला निर्वाचन कार्यालय, काभ्रेपलाञ्चोकको अभिलेखमा छ ।
यसैगरी, दोलखा जिल्लामा गत शुक्रबारसम्ममा ७१४ जनाले मतदाता नामावली दर्ता गराएकोमा बाहिरी जिल्लाका २५ जना छन् । गत असोज मसान्तमा जारी अन्तिम मतदाता नामावली अनुसार दोलखामा एक लाख ६३ हजार १३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, दोलखाले जनाएको छ ।
रामेछाप जिल्लामा गत शुक्रबारसम्ममा ६७५ मतदाता नामावली सङ्कलन भएको छ । रामेछापमा मतदाता दर्ता गराउनेमा पनि २२ देखि २५ वर्ष उमेरका युवा अधिक रहेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ ।
उता रसुवा जिल्लामा १७६ जनाले गत शुक्रबारसम्म नयाँ मतदाता नामावली दर्ता गरेको पाइएको छ । रसुवा जिल्लाको हालसम्मको अन्तिम मतदाता नामावली ४० हजार पाँच सय रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाको तथ्याङ्क छ ।
यस्तै, नुवाकोट जिल्लामा ९८५ जनाको नयाँ मतदाता नामावली सङ्कलन भएकोमा तीमध्ये ३१ जना जिल्ला बाहिरका रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । नुवाकोटमा असोज मसान्तसम्मको मतदाता नामावली अनुसार दुई लाख ४० हजार ३०२ जना मतदाता छन् ।
धादिङ जिल्लामा आइतबार दिउँसोसम्ममा ९३७ जना नयाँ मतदाताको नामावली सङ्कलन भएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङका जिल्ला अधिकारी शिवबहादुर गुरुङका अनुसार हालसम्म ७५ जनाले ठाउँसारीका लागि निवेदन दिएकोमा ६० जनाको टुङ्गो लागेको र ११३ जनाले त्रुटि सच्याउन निवेदन दिएकोमा ८२ मतदाताको अनुमोदन भइसकेको छ । धादिङ जिल्लामा हाल दुई लाख ६७ हजार ३४१ मतदाता छन् ।
प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ढकालले हेटौँडामा बसेर अध्ययन गर्दै आएका बारा, पर्सा, रौतहटलगायतका जिल्लाका विद्यार्थीहरुसमेत ठुलो सङ्ख्यामा मतदाता दर्ताका लागि आएको भन्दै विदेशबाट फर्किएकाहरु पनि मतदाता नामावली दर्ताका लागि आउने क्रम बढेको बताउनुभयो ।
उहाँले विगतमा जस्तो राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता लगाएर र सवारी साधनमा राखेर भने मतदाता नामावली दर्ताका लागि नल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले मतदाता दर्ताका लागि आएका सबैजसो स्वतःस्फूर्त आएका छन् ।’’
त्यसो त, निर्वाचन आयोगले कात्तिक २३ गते आइतबार मात्र १६ हजार ९३७ जनाले मतदाता नामावली दर्ता गरेको जनाएको छ । जसमा नौ हजार ५५८ पुरुष र सात हजार ३७८ महिला र एक जना अन्यले नामावली दर्ता गरेका छन् ।
त्यस्तै, आयोगका अनुसार हालसम्म एक लाख ६३ हजार छ सय जनाले मतदातन नामावली दर्ता गरेका छन् । जसमा नौ लाख ७५ हजार ३५ पुरुष, छ लाख छ हजार ४४ महिला र २१ जना अन्य रहेको आयोगले जनाएको छ ।