• १३ असोज २०८१, आइतबार

अध्यक्ष तिमिल्सिना र भारतीय राजदूत श्रीवास्तवबीच भेट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३१ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार उहाँहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटको क्रममा अध्यक्ष तिमिल्सिनाले लामो कूटनीतिक अनुभव भएको व्यक्ति नेपालमा राजदूतको रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारत सम्बन्धले थप उचाई प्राप्त गर्ने अध्यक्ष तिमिल्सिनाले अपेक्षा गर्नुभयो। 

अध्यक्ष तिमिल्सनाले नेपाल–भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक,  प्राविधिक तथा जनस्तर सम्बन्ध रहिआएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाल–भारत छिमेकी राष्ट्र मात्र नभइ हाम्रो बहुआयामिक सम्बन्ध छ । हामीमध्ये कुनै एक देशलाई समस्या पर्दा अर्कालाई दुख्ने गर्दछ। त्यसैले हाम्रो सम्बन्ध विशेष छ।”

छिमेकी देश भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो  नेबरहुड फर्स्ट पोलिसी अन्तर्गत छिमेकीहरुसँगको सम्बन्धलाई विशेष महत्व दिने नीतिको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गर्नुभयो।

‘नेपाल र भारतबीचको बहुआयामिक एवम् गहन सम्बन्धका विविध आयामलाई सुदृढ तुल्याउन दुई देशको सरकारले प्रथामिकता दिइरहेको छ, उहाँले भन्नुभयो,  “त्यसको उदाहरणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीज्यू नेपाललाई प्रथामिकता दिएर पाँच पटक राजनीतिक तथा धार्मिक भ्रमण गरिसक्नुभएको छ। नेपालको तर्फबाट पनि उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् ।’

अध्यक्ष तिमिल्सिनाले नेपाल र भारतको सीमा क्षेत्रमा बषेनी बाढी र डुबानका कारण जनधनको क्षति हुनेगरेको उल्लेख गर्दै यसको दीर्घकालिन समाधानका लागि सहकार्य र विगतमा दुई देशबीच भएका विभिन्न सम्झौताको कार्यन्वयन आवश्यक रहेको उहाँले बताउनुभयो ।

भारत र नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले भारतले नेपालमा आर्थिक तथा प्राविधिकलगायत विभिन्न क्षेत्रमा पुर्या्उँदै आएको सहयोगका लागि धन्यवाद अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभयो।

दुई देशका संसदबीचको सम्बन्ध विस्तारका लागि नेपालको संघीय संसदमा नेपाल–भारत संसदीयमैत्री समूह रहेको र यसबाट दुई देशका संसदबीच सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले राजदूत श्रीवास्तवमार्फत भारतको राज्य सभाका सभापति वेनकाय नायडुको स्वास्थ्यको कामना तथा भारतीय जनताको प्रगति र समृद्धिको कामना गर्नुभयो। सभापति नायडुलाई सन् २०२२ भित्र नेपाल भ्रमणका लागि राजदूतमार्फत आमन्त्रण पनि उहाँले दिनुभयो । 

राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको लामो र मित्रवत सम्बन्धलाई आफ्नो कूटनीतिक अनुभव र क्षमताको प्रयोग गरी थप मजबुद बनाउन भूमिका खेल्ने विश्वास दिलाउनुभयो । साथै उहाँले दुई देशबीच राजनीतिकसँगै आर्थिक सम्बन्धलाई पनि मजबुत र विस्तार गर्नुपर्ने चर्चा गर्नुभयो। 

राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको व्यापारिक सन्तुलनका लागि जलविद्युत्, पर्यटन र कृषिमा प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।