• १२ वैशाख २०८१, बुधबार

श्रीलङ्कामा गहिरियो सङ्कट

blog

काठमाडौँ, असार ३० गते । बुधबार राजीनामा गर्ने घोषणा गरेका श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे राजीनामा नदिई राति नै माल्दिभ्स भागेपछि श्रीलङ्कामा अरू सङ्कट थपिएको छ । चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्का राजनीतिक र संवैधानिक सङ्कटमा पनि फसेको हो ।

श्रीलङ्का वायुसेनाको जेट विमानमा राष्ट्रपति राजापाक्षे, पत्नी इओमा गोटाबाया र अरू सहयोगी माले पुगेको सञ्चारमाध्यमहरूले जनाएका छन् । वायुसेनाले सेनाको परमाधिपतिको कार्यकारी अधिकार प्रयोग गरी राष्ट्रपति सैनिक विमानबाट माल्दिभ्स गएको पुष्टि गरेको छ । 

प्रधानमन्त्रीको कार्यालयले पनि सो कुराको पुष्टि गरेको छ । भाग्नका लागि सेनाले सहयोग गरेको भन्दै विरोध तीव्र भएको छ ।भागेका राष्ट्रपतिले प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी सभामुखले संसद्लाई दिनुभएको छ । श्रीलङ्काको संविधानको धारा ३७ (१) बमोजिम प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले देशबाहिर रहँदा राष्ट्रपति कार्यालयको कामकारबाही गर्न राष्ट्रपति राजापाक्षेले जानकारी गराउनुभएको सभामुख महिन्दा यापा अबयर्दनाले जानकारी दिनुभएको श्रीलङ्काली सञ्चारमाध्यम सन्डे टाइम्सले जनाएको छ । 

यसअघि शनिबारको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति निवास नियन्त्रणमा लिएका थिए । त्यसै बेलादेखि राष्ट्रपति निवास छाडेर भाग्नुभएको थियो तर कहाँ रहनुभएको थियो भन्ने अज्ञात राखिएको थियो । अज्ञात स्थलबाटै बुधबार आफूले राजीनामा गर्ने बताएको जानकारी सभामुखले दिनुभएको थियो । रनिल विक्रमसिङ्घेले पनि प्रधानमन्त्रीबाट राजीनामा गर्ने घोषणा गर्नुभएको थियो तर दुवैको राजीनामा नआई उल्टै सेनाको सहयोगमा राष्ट्रपति भागेको घटनाबाट प्रदर्शनकारी उत्तेजित भएका छन् ।

उनीहरूले प्रदर्शन उग्र बनाउँदा कार्यवाहक राष्ट्रपतिमा नियुक्त विक्रमसिङ्घेले सङ्कटकाल घोषणा गर्नुभएको छ । उहाँले सेना र प्रहरीलाई स्थिति जसरी पनि नियन्त्रणमा लिन आदेश दिनुभएको छ । सोही आदेशअनुसार प्रधानसेनापति साभेन्द्र सिल्भाले शान्ति सुव्यवस्था कायम गर्न आमजनतालाई विशेष अपिल गर्नुभएको छ । तर पूर्वप्रधानसेनापति तथा सांसद शरद फोनसेकाले भने सेनाको अनुरोधको अवज्ञा गर्न अपलि गर्नुभएको छ ।

प्रदर्शनकारीले भने सङ्कटकालमा पनि सेना र प्रहरीको सुरक्षा घेरा तोडेर प्रधानमन्त्री कार्यालय र सरकारी टेलिभजन कार्यालय नियन्त्रणमा लिएका छन् । स्थिति नियन्त्रणबाहिर छ । उता माल्दिभ्समा रहेका राजापाक्षे त्यहाँबाट पनि सिङ्गापुर जाने योजना रहेको पनि श्रीलङ्काको डेली मेलले जनाएको छ । 

यसैबीच सभामुख अबयर्दनाले राजापाक्षेले आफूले दिएको वचनअनुसार राष्ट्रपति पदबाट बुधबार नै राजीनामा गर्ने आफूलाई बताएको सूचना सार्वजनिक गर्नुभएको छ । यसरी राजापाक्षे भागेको घटनामा उसको छिमेकी देश माल्दिभ्स मात्र होइन, भारतसमेत विवादमा परेको छ ।

श्रीलङ्काबाट भागेका राजापाक्षेलाई माल्दिभ्स आउन दिएको भन्दै माल्दिभ्समा त्यहाँको सरकारविरुद्ध प्रदर्शन भएको छ । अपेक्षाकृत शान्त दक्षिण एसियाली देश माल्दिभ्समा विरोध हुँदा कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयले राजापाक्षे भाग्नमा भारतको सहयोग रहेको भन्ने कुराको खण्डन गरेको छ । 

फाँसीवाद रोक्नुपर्ने विक्रमसिङ्घेको भनाइ

कार्यवाहक राष्ट्रपति–प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले श्रीलङ्काको राज्यलाई विरोध प्रदर्शनमार्फत अस्थिर बनाउन खोज्ने फाँसीवादी तŒवहरूलाई नियन्त्रण गर्न कोलम्बो क्षेत्र रहेको पश्चिम प्रान्तमा तत्काल आपत्काल र कफ्र्यु लगाइएको बताउनुभएको छ । कार्यवाहक राष्ट्रपति घोषणा भएलगत्तै उहाँले आफ्ना धारणा सार्वजनिक गर्नुभएको हो । राष्ट्रपति गोटाबायाले स्वदेश छाडेलगत्तै उत्पन्न सङ्कटपूर्ण अवस्थामै त्यहाँका जनताले अब कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री सिङ्घेको राजीनामाको माग गर्दै उहाँको कार्यालय घेराउ गरिरहेका छन् । 

(एजेन्सीको सहयोगमा)