कमल रिजाल
असार शुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ । यस दिन गुरुपूजा तथा व्यास जयन्ती मनाइने गरिन्छ । भानु जयन्तीसमेत एकै दिन परेकाले यस वर्षको गुरुपूर्णिमा थप विशेष हुन पुगेको छ । यस पर्वमा गुरुहरूको विशेष सम्मान गरिन्छ, गर्नुपर्छ भन्ने मान्यता छ, जुन कुरामा भाइबहिनीहरू पनि परिचित नै हुनुपर्छ तर गुरु भनेका को हुन्, के गर्छन् र किन उनीहरूको सम्मान गरिन्छ वा गर्न लगाइएको छ भन्ने कुरा भने सबैलाई थाहा नहुन सक्छ । त्यसैले भाइबहिनीहरू यहाँ यसैबारे जानकारी दिने प्रयास गरिएको छ ।
गुरुको अर्थ हुन्छ अन्धकारलाई रोक्ने वा हटाउने । जसले जीवनमा अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानको ज्योति बालिदिन्छन्, उनीहरू नै गुरु हुन् । आमाबाबुले जन्म मात्र दिन्छन् । यो पनि ठूलो कुरा हो । जन्म भनेको सितिमिति पाइने कुरा होइन तर जन्मदैमा जीवन पूर्ण हुन्छ नै भन्ने हुँदैन । जन्म त पशुपन्छीले पनि लिएकै हुन्छन् । कीरा कमिलाले पनि पाएकै हुन्छन्, जसले जीवनका उद्देश्य नै बुझ्न सकेका हुँदैनन् । त्यसलाई पूर्णता दिने वा सफल पार्ने काम गुरुहरूले गरेका हुन्छन्, गरिदिन्छन् । त्यसैले जीवनमा आमाबाबु र गुरुको स्थानमा बराबरी मानिन्छ । वेदले मातृदेवो भव र पितृदेवो भवको साथमा आचार्यदेवो भव भनेर उनीहरू सबैलाई एउटै स्थानमा उभ्याएको छ ।
प्रायः हाम्रो यहाँ व्रतवन्धमा गायत्री सुनाउनेलाई गुरु भन्ने गरिएको पाइन्छ । हिजोआज स्कुलका सर मिसहरूलाई पनि गुरु भन्न थालिएको छ । यो पनि राम्रै हो तर गुरुहरू भनेका त्यतिमा मात्र हुन् भन्ने होइन । मानिसले आमाबाबु, दाजुदिदी, घर, समाजलगायत सबै अग्रज पुस्ताबाट केही न केही सिकेकै हुन्छन् । त्यसैले पछिल्लो पुस्ताका लागि तमाम अघिल्लो पुस्ता गुरु नै हुन् । यसबाहेक प्रकृतिको यावत् पक्षबाट केही न केही शिक्षा पाइने भएकाले सिङ्गो प्रकृतिलाई नै गुरु मान्नुपर्ने हुन्छ ।
भागवतमा व्यासजीले दत्तात्रय महाराजको २४ वटा गुरु थिए भनेका छन् । उनका अनुसार दत्तात्रयले पृथ्वी, जल, तेज, वायु, आकाशलगायत प्रकृतिका यावत् पक्षबाट केही न केही सिकेकाले उनको जीवन सार्थक भएको थियो रे । त्यसैले गुरु पाउन गाह्रो छैन । गुरु पाइँदैन कि भन्ने चिन्ता पनि गर्नुपर्दैन र गुरुबाट केही पाइन्न कि भन्ने चिन्ता पनि लिनुपर्दैन । बरु चिन्ता त्यहाँ गर्नुपर्छ, जहाँ सही शिष्य बन्न सकिन्न कि भन्ने कुरा आउँछ । शिष्य अधिरकारी बन्न सके गुरु पदपदमा भेटिन्छन् । सबैले केही न केही शिक्षा दिएकै हुन्छन् । खप्पड स्वामीले बाघजस्तो हिंस्रक जनावरबाट समेत सिक्न सकिने धेरै कुरा छन् भनेका छन् ।
चिन्न सके हावा, पानी, माटो, आगो, पशुपन्छी, कीरा कमिला सबै गुरु हुन् । नसके स्वयं जगद्गुरु कृष्ण नै आए पनि, पाए पनि कुनै अर्थ रहन्न । कृष्णलाई अर्जुनले पनि पाएका थिए दुर्योधनले पनि पाएका थिए तर चिन्न सकेकाले अर्जुनको जीवन सार्थक भएको थियो नसकेकाले दुर्योधनको जीवन बर्वाद हुन पुगेको थियो ।
गुरुले हमेशा दिन्छन्, दिइरहेका हुन्छन् । दिन मात्र चाहने सकेसम्म लिन नचाहने कोही हुन्छन् भने गुरुहरू नै हुन् तर गुरुले दिएर मात्र पुग्दैन लिन पनि जान्नुपर्छ । भाँडो नै छैन भने जति पाए पनि कहाँ राख्ने ? राख्ने ठाउँ नै छैन भने पाएर पनि के गर्ने । फेरि भाँडो मात्र भएर पनि पुग्दैन थाप्न पनि जान्नुपर्छ । अन्यथा पोखिन्छ, घोप्टिन्छ ।
गुरुपूर्णिमा पर्वमा गुरुको सम्मान गर्ने परम्परामा भित्र यही यही सन्देश पाउन सकिन्छ । यसको अर्थ वर्षको एकदिन मन्त्र सुनाउने वा पढाउने गुरुलाई फूलमालाले सम्मान गर्दैमा गुरुप्रतिको सम्मान पूरा हुन्छ भन्ने होइन । वर्षैभरि आपूmलाई शिक्षा दिने वा आफूले शिक्षा पाएको समाजको हरेक पक्षप्रति इमानदार हुनुपर्छ भन्ने हो र यही नै गुरुप्रतिको सच्चा सम्मान पनि हो ।
हिजोआज समाजमा गुरुको महìव घट्दै गएको छ । यसको कारक शिक्षाको माध्यम पनि हो, शिक्षा दिने तरिका पनि हो र केही मात्रामा स्वयं गुरु तथा शिष्य पनि हुन् । हाल प्रायः शिक्षालाई व्यापार बनाइएको देखिन्छ, जसले हिसाबकिताब राख्न सिकाउनेबाहेक केही गरेको छैन, गर्न सकेको छैन । शिक्षाको उद्देश्य हिसाब किताब राख्नमै सीमित हुन्छ भने त्यसलाई व्यापार नभनेर के भन्ने । उता गुरुहरू आफैँ ट्युसन सेन्टर खोलेर त्यसैलाई सघाउने काम गरिरहेका छन् । जहाँको शिक्षाले व्यापार गर्न सिकाएको छ, गुरुहरू व्यापार गर्न बसेका छन् भने त्यहाँ गुरुको महìव घट्यो भनेर चिन्ता गर्नु नै बेकार छ । जसरी गरे पनि र जहाँ गरे पनि व्यापार भनेको व्यापार नै हो, जसले हमेसा नाफा हानिलाई नै हेर्छ, प्रेम र सद्भावलाई हेर्दैन ।
पहिले पहिले शिक्षा निःशुल्क हुन्थ्यो । विद्यार्थीलाई खाने बस्ने सुविधासमेतको शिक्षा दिने गरिन्थ्यो । गुरुहरू जति बढी शिष्यलाई ज्ञान बाँड्न पाइयो त्यति बढी खुसी हुन्थे तर हिजोआजको अवस्था त्यसको ठीक विपरीत छ । शिष्यहरूबाट जति बढी लिन सकियो गुरुहरू त्यति बढी खुसी हुने अवस्था छ । यस्तो अवस्थामा गुरुको महìव नघटेर कहाँ घट्ने ।
यसको अर्थ समस्या गुरुवर्गमा मात्र छ भन्ने पनि होइन । शिष्यहरूले शिष्यत्व धर्म कति निर्वाह गर्न सकेका छन् त्यतातिर पनि हेर्नुपर्ने हुन्छ । महाभारतको युद्धमा भीष्म र द्रोण दुर्योधनको पक्षमा लडेका थिए । यो परिवन्दको कुरा थियो तर उनीहरूको उद्देश्य अर्जुनले जितुन् भन्नेतिरै हुन्थ्यो ।
उनीहरू अर्जुनबाट हार्न चाहन्थे हार्न पाउँदा नै खुसी मान्थे । उनीहरूलाई आफ्नोभन्दा बढी चिन्ता अर्जुनको थियो । शिक्षा दिने काम त दुर्योधनलाई पनि गरेका थिए उनीहरूले तर बढी चिन्ता अर्जुनको गर्थे भने बुझ्नुपर्ने हुन्छ । यसबाट के बुुझ्नुुपर्छ भने शिष्यले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्दो रहेछ, गर्न जान्नुपर्ने रहेछ । गुरुपूर्णिमा पर्व यसैका लागि हो, यस्तै सन्देश दिनका लागि हो । आशा छ यसतर्फ सबै पक्षको ध्यान पुग्नेछ ।