• १५ वैशाख २०८१, शनिबार

जडीबुटी खेतीबाट उत्साहित ताप्लेजुङका किसान

blog

किसानले लगाएको जडीबुटी खेतीको अनुगमन गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङका किसान जडीबुटी खेतीबाट उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् । 

जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालय ताप्लेजुङले किसानलाई अनुदान दिँदैआएको छ । आफ्नो नीजि जडीबुटी खेती गर्नलाई आर्थिक अनुदान सहयोग पाएपछि किसानहरु खेती गर्नतर्फ उत्साहित देखिएका छन् । आर्थिक सहयोगले जडीबुटी खेतीका लागि ठूलो राहत मिलेको किसानले बताएका छन् । 

बहुमूल्य सतुवा, लौठसल्ला, तितेपाती, टिमुरलगायतका जडीबुटी खेती गर्ने किसानले अनुदान सहयोग पाउँदैआएका छन् । अनुदान सहायता पाएपछि खेती बिस्तार गर्नमा सहयोग पुगेको फुङ्लिङ नगरपालिका –९ का किसान कुमार गुरुङले बताउनुभयो । अनुदान पाएपछि दुईचार हजार बिरुवा रोपेर सुरु गरेको सतुवा खेती बिस्तार गरेको उहाँले बताउनुभयो ।  

यस्तै, फुङ्लिङ नगरपालिका –८ दोखुका कुमार लिम्बूले पनि अनुदान सहयोग पाएपछि जडीबुटी खेती बिस्तार गर्नुभएको छ । लिम्बूले  आफ्नो निजी जग्गामा सतुवा खेती लगाएको बताउनुभयो ।  

पाथीभरा याङ्वरक गाउँपालिका–१ का किसान सनम गुरुङले तितेपाती खेतीका लागि अनुदान प्राप्त गर्नुभएको छ । केही वर्ष अघिदेखि तितेपाती खेती सुरु गर्नुभएका गुरुङले आर्थिक अनुदान पाएपछि खेती बिस्तार गर्न थाल्नुभएको बताउनुभयो । निजी खेतीका लागि अनुदान पाएपछि जिल्लाका धेरै किसान जडीबुटी खेती गर्न उत्साहित भएका छन् । 

जडीबुटी खेती बिस्तार तथा व्यवस्थापनमा अनुदान सहयोग पाउँदैआएका किसानले  जडीबुटी उत्पादनपछि बजारीकरणका लागि समेत सहयोग पाउने अपेक्षा राख्दैआएका छन् । 

किसानले गरेको जडीबुटी खेतीको अनुगमन तथा निरीक्षण गर्न पुगेको डिभिजन वन कार्यालयको टोलीसँग जडीबुटीको बजारबारे जानकारी नभएको किसानले बताएका छन् । 

जडीबुटी खेती गर्दै आउनुभएका किसान कुमार गुरुङले सतुवा प्रतिकिलोग्राम १७ हजार रुपियाँ सम्ममा बिक्री हुने सुनेको बताउनुभयो । कहाँ र कसलाई बिक्री गर्ने भन्ने अहिलेसम्म थाहा नभएको उहाँको भनाइ छ । 

जडीबुटीको बजारीकरणमा समेत सहयोग हुनुपर्ने उहाँले बताउनुभयो । जडीबुटी खेतीमा सङ्लग्न जिल्लाका अधिकांश किसानहरु बहुमूल्य जडीबुटीको बजार र मूल्यबारे बेखबर छन् । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, डिभिजनल वन अधिकृत वीरेन्द्र शाह, प्रहरी नायव उपरीक्षक कैलाश राई, सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझा लगायतको टोलीले जडीबुटी खेतीको अनुगमन गरेको छ । 

अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख लामाले अनुदान सहयोगलाई सही सदुपयोग गरी बढीभन्दा बढी फाइदा लिन किसानलाई आग्रह गर्नुभयो । यता, चालू आर्थिक वर्षमा २०७८–७९ मा जडीबुटी खेती गर्न साढे सात लाख रुपियाँ प्रोत्साहन स्वरुप विभिन्न किसानलाई अनुदान सहयोग उपलब्ध गराएको डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार सतुवा, तीतेपाती, चिराइतो, लौठ सल्ला र टिमुरलगायत जडीबुटी खेती गर्ने ६ जना किसानलाई सो अनुदान उपलब्ध गराइएको हो ।

चालू आवभित्रै डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय फुङ्लिङमा पनि नर्सरी उत्पादन गरिएको छ । त्यस्तै डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा तोक्मेडाँडा सामुदायिक वन उपभोक्ता समूहले तोक्मेडाँडा सामुदायिक वन क्षेत्रमा हरियाली पार्कसमेत निर्माण गरिएको छ ।